एउटै वडाका ६०० परिवार बेसार खेतीमा, भाउ नपाउँदा पनि ७ करोड कारोबार !

एउटै वडाका ६०० परिवार बेसार खेतीमा, भाउ नपाउँदा पनि ७ करोड कारोबार !

विकास टाइम्स
1.1k
Shares

सुनसरी ।

सुनसरीको बराहक्षेत्र नगरपालिका–१ निवासी अरुणा राईको पुख्र्यौली पेसा हो– बेसार खेती ।

अरुणाले बर्सेनि ७ क्विन्टलसम्म बेसार बेच्ने गरेकी छिन् । उनको बारीको बेसार खन्न २ जनालाई करिब ३ महिना लाग्छ । अरुणाको ८ जनाको परिवार यही बेसारकै भरमा चलेको छ । भाउ पाउँदा त ठिकै हो । तर, कहिलेकाहीँ बेसारको भाउ ह्वात्तै घट्छ । परिवारको गुजाराको माध्यम नै यही भएकाले जति मूल्य आए पनि बेच्नैपर्ने बाध्यता छ ।

बेसारको मूल्य उत्पादनले निर्धारण गर्छ । बढी उत्पादन हुँदा मूल्य कम हुन्छ भने उत्पादन घटे भाउ बढ्छ । विशेष गरी चाडबाडको बेलामा बेसारको भाउ बढ्छ । चाडबाडको सिजन बेसार उत्पादनको मुख्य सिजन नभए पनि चाड मनाउनकै लागि भए पनि बेसार उत्पादन गरी बेच्ने गरेको अरुणा बताउँछिन् । ‘अलिक भाउ पाउँदा त धेरै पैसा आउँछ । भाउ घटेका बेला भने मारमा पर्ने गरेका छौँ,’ विकास टाइम्ससँग अरुणा भन्छिन् ।

मकै फल्ने केही बारी र अन्य केही पनि उत्पादन नहुने जग्गामा अरुणाले बेसार खेती गरेकी छिन् । धेरै भिरालो र खनजोत गर्न समस्या हुने जमिनमा अन्य कुनै अन्नबाली फलाउन नसकिने भएकाले बेसार लगाएको उनी बताउँछिन् । बेसार रोपेको ६ महिनामा उत्पादन हुन्छ । मकैसँगै लगाएको बेसार निमिट्यान्न पारेर खन्ने र भिरालो जमिनमा लगाएको बेसार भने आंशिक रूपमा खन्ने गरेको उनी बताउँछिन् । यसो गर्दा अर्को वर्ष त्यहाँ बेसार रोपिरहनुपर्दैन, त्यही बोटले काम गर्छ ।

कमाइको हिसाबले बेसार खेती राम्रो भए पनि मिहिनेत पनि कम छैन । बेसार रोप्दादेखि बजारमा बेच्दासम्म निकै दुःख खेप्नुपर्ने अरुणा सुनाउँछिन् । अरुणाले बेसार खनेपछि बिउका लागि र बिक्रीका लागि बेसार छुट्याउने गर्छिन् । रोप्ने बेसार राखेर बेच्ने बेसार घरमा ल्याएर धोईपखाली गर्छिन् ।

धोईपखाली गरेर सुकिलो बनाएको बेसारलाई ठुलो भाँडामा हालेर उसिनिन्छ । उसिनेपछि त्यसलाई चर्को घाममा वा आगोको रापमा सुकाएपछि मात्र त्यो बेसार बेच्न तयार हुन्छ । ‘बारीबाट खनेर ल्याएर सीधै बेच्न पाए त हुन्थ्यो नि !,’ अरुणा भन्छिन्, ‘तर, उसिनेर सुकाएर बेच्दा त धेरै घट्छ ।’ त्यसरी तयार पारेर आफैँ स्थानीय बजार बयरबनमा लाग्ने हटियामा बेच्न लान्छिन् । माथि डाँडाबाट तल बजारसम्म झारेपछि अरुणाले उचित दाम नपाए पनि बेच्नैपर्ने बाध्यता छ ।

बेसार नबिके परिवारको गर्जो टार्न समस्या हुन्छ । ‘भाउ नभए पनि बेच्नैपर्छ,’ उनी भन्छिन्, ‘हामीले त सबै चिज किनेर खानुपर्छ । भाउ आएन भनेर बेचेन भने हामीलाई खानै समस्या हुन्छ ।’ अहिलेसम्म नगर र वडाले बेसार खेतीका लागि कुनै किसिमको सहयोग नगरेको अरुणा बताउँछिन् । ‘हाम्रो मुख्य खेती र आम्दानीको स्रोत नै यही हो । तर, स्थानीय सरकारले हामीलाई केही सहयोग गरेन,’ उनी भन्छिन्, ‘हामीलाई खेतीका लागि तालिम, सहयोग बेसारको भाउ तोक्नेलगायत गरिदिए जाती हुन्थ्यो ।’

यस्तै, बराहक्षेत्र–१ निवासी पूजन राईको परिवारको दुःख पनि अरुणाको जस्तै छ । पूजन भने चाडबाड मनाउन मात्रै गाउँ पुग्छन् । अरुबेला गाउँबाहिरै हुन्छन् । पूजनको ७ जनाको परिवार पनि यही बेसार खेतीले पालिनुपर्ने अवस्था छ ।

बेसार खेती उनीहरूको पनि पुख्र्यौली पेसा हो । पूजनको परिवारले वर्षको करिब १२ क्विन्टल बेसार बेच्छ । उनीहरूको अधिकांश भिरालो बारी छ, जहाँ अरू कुनै अन्नबाली लगाउन मिल्दैन । तर काम गर्ने मान्छे नहुँदा उनीहरूले सबै बारीमा बेसार लगाउन सकेका छैनन् । पूजनको परिवारले पनि बजार भाउ खस्किएका बेला बेसार स्टक गरेर राख्न सक्दैन ।

बेसार नबेचे चुलोमा आगो बल्दैन । किसान जहिल्यै मारमा पर्ने गरेको पूजनको गुनासो छ । बजारभाउ नपाउने कुरा सवैलाई थाहाँ भएको भएपनि कसैले वास्ता नगरेकामा उनलाई दुःख लाग्छ । ‘हामीले बजार भाउ नपाएको कुरा सवैलाई थाहाँ छ,’ पूजन भन्छन्, ‘तर, पनि हाम्रो विषयमा कसैले पनि अहिले सम्म चासो भने दिएका छैनन् ।’ आफूले उत्पादन गरेको बेसार बिक्री गर्न लाँदा उनीहरूले आफ्नो मूल्य भन्न पाउँदैनन् । किन्नेलाई ‘कतिमा किन्नुहुन्छ’ भनेर सोधेर त्यतिमै बेच्नुपर्छ ।

पूजनको परिवारले लगाएको बेसार खेती हेर्न नगरका जनप्रतिनिधिहरू धेरै पटक आइसके । तर, बिक्रीवितरणको सहज वातावरण बनाउने र बेसारको ब्रान्डिङका लागि उनीहरूले कुनै पहल गरेनन् । ‘पालिकामा पनि टाढाका मान्छे त छइनन्,’ पूजन भन्छन्, ‘उनीहरू हेर्न आउँछन् । हामी आफ्नो समस्या पनि सुनाउँछौँ । सबै थाहा पाएर पनि केही गर्दैनन् ।

स्थानीय जनताको पक्षमा काम नगर्नेलाई जनप्रतिनिधि भनिँदोरहेछ । अरुणा र पूजनको परिवारले मात्र होइन, बराहक्षेत्र–१ का करिब ६०० घरपरिवारले बेसार खेती गरेका छन् । बराहक्षेत्र–१ साविकको गाविसका १, ५, ७, ८, र ९ नम्बर वडा मिलेर बनेको हो । जसमध्ये साविकको बराहक्षेत्र गाविस– ७, ८ र ९ का करिब ६०० परिवारले बेसार खेती गरेको बराहक्षेत्र–१ का वडाध्यक्ष किसन थापा बताउँछन् । ‘यहाँको मुख्य खेती नै बेसार हो,’ थापा भन्छन्, ‘केही ठाउँमा चिया, अम्लिसो, अदुवा पनि हुन्छ । तर मुख्यतया बेसार खेती नै हुन्छ ।’

बेसारबाट कति आम्दानी ?

यहाँका किसानले बेसार खेतीबाट सिजनमा प्रतिपरिवारले ६० हजारदेखि १२ लाख रुपैयाँसम्म कमाउने गरेको हरिद्वार कृषि सहकारी संस्था बराहक्षेत्रका अध्यक्ष लोकबहादुर दाहाल बताउँछन् ।

‘बराहक्षेत्र–१ का सबै कृषकले एक सिजनमा ५ देखि ७ करोड रुपैयाँसम्मको कारोबार गरेको अहिलेसम्मको रेकर्ड छ,’ दाहालले विकास टाइम्ससँग भने, ‘तर, बेसारको मूल्य बजारले निर्धारण गर्ने भएकाले पनि कृषक मारमा परेका छन् ।’ थोरै बेसार लगाउनेले ५ देखि १० मनसम्म बिक्री गर्ने गरेको बराहक्षेत्र–१ र २ का उद्योग वाणिय संघका अध्यक्ष कृष्ण कटेल बताउँछन् । ‘मलाई थाहा भएसम्म एक परिवारले २० मनसम्म बिक्री गरेका छन्,’ कटेल भन्छन्, ‘बजारमा बेसारको मूल्य कति छ, त्यही अनुसारको आम्दानी हुने गर्छ ।’

मूल्य कति ?

बेसारको निश्चित मूल्य यति नै हो भनेर कुनै तय नभएको कटेल बताउँछन् । ‘ठ्याकै बेसारको मूल्य यति नै हो भन्ने त हुँदैन,’ कटेलले विकास टाइम्ससँग भने, ‘मैले थाहा पाएअनुसार काँचो बेसारको १५० रुपैयाँ र सुकेको २५० रुपैयाँ प्रतिकिलो हो ।’

हरिद्वार कृषि सहकारीका अध्यक्ष दाहाल पनि सुकेको बेसारको मूल्य ४०० रुपैयाँसम्म पुगेको बताउँछन् । ‘एक समय बेसारको भाउ ४०० रुपैयाँसम्म पुगेको थियो,’ दाहालले भने, ‘अहिले बजारमा २०० रुपैयाँले बिक्री भइरहेको छ ।’ हरिद्वार सहकारीले बेसार प्रशोधन गरेर बिक्री गर्ने गरेकाले सहकारीले भने २१५ रुपैयाँसम्ममा खरिद गर्ने गरेको उनी बताउँछन् । ‘हाम्रो सहकारीले पनि एक वर्ष मात्र भयो बेसार पिसेर बेच्न थालेको,’ दाहाल भन्छन्, ‘यहाँ उत्पादन भएको सबै बेसार हामीले मात्र किन्न सक्ने अवस्था छैन ।’सहकारीले अहिले १८–२० लाख रुपैयाँको बेसार किनेर स्टक गरेको दाहाल बताउँछन् ।

के भन्छन् स्थानीय तह ?

वडाको कति क्षेत्रफलमा बेसार खेती हुन्छ भन्ने कुरामा वडा पनि जानकार छैन । अहिलेसम्म स्थानीय बेसारलाई ब्रान्डिङ गर्ने कुनै पहल नगरेको अध्यक्ष थापा स्वीकार गर्छन् । ‘बेसारको ब्रान्डिङ गर्ने गरी अहिलेसम्म त्यस्तो केही योजना बनेको छैन,’ थापाले भने, ‘कृषकले आफैँ लगाउने अनि आफैँले बजारमा गएर बेच्ने गरेका छन् ।’ बेसारको मुख्य बजार भनेको स्थानीय बजार नै हो । केहीले धरान लगेर पनि बेच्ने गरेका छन् । आफैंले बजारमा लगेर बेच्दा किसानले उचित मूल्य नपाएको वडाध्यक्ष थापा बताउँछन् । ‘यसलाई अलि व्यवस्थित तरिकाले गर्न पाए राम्रो हुन्थ्यो,’ थापा भन्छन्, ‘उत्पादन गर्ने एउटा, दरभाउ तोक्ने अर्को हुन्छ ।त्यसले त किसानलाई मार परेको छ नि !’

किसानलाई सहज हुने गरी नगरपालिकाले पहल गर्नुपर्ने होइन भन्ने जिज्ञासामा उनी भन्छन्, ‘हामीले यस विषयमा पटक–पटक कुरा गरेका हौँ, तर ठ्याक्कै यसरी नै गर्ने भनेर तय गर्न अलि गाह्रो हुने रहेछ ।’ कृषकले बारीमा लगाएको देखाएर व्यापारीसँग पहिले नै पैसा लिने गरेकाले पनि समस्या भएको थापाको भनाइ छ । कृषकहरू आफ्नो समस्या लिएर जनप्रतिनिधिको ढोकासम्म आउनुपर्ने थापा बताउँछन् । ‘कृषकहरूले पनि हामी मारमा पर्‍यौँ भनेर गुनासो गर्न आएका छैनन्,’ थापाले भने, ‘उहाँहरूले त्यो आवाज लिएर पालिकामा जाँदा चाहिँ केही व्यवस्थापन हुन्थ्यो कि !’

के भन्छन् व्यापारी ?

विगतका स्थानीय सरकारले केही गर्छौँ भने पनि त्यस्तो केही नगरेको उद्योग वाणिज्य संघ अध्यक्ष कटेल बताउँछन् । ‘स्थानीय सरकारले बेसार कृषकका लागि खासै केही पनि गरेको छैन,’ कटेलले भने, ‘यहाँको बेसार निकै राम्रो छ, यसलाई मार्केटिङ गर्न सकियो भने राम्रो हुन्थ्यो ।’