घन्टी बजाउँदै अरू दलकै पछिपछि रास्वपा, रवि रिझाउनेलाई ‘पद’ उपहार !

घन्टी बजाउँदै अरू दलकै पछिपछि रास्वपा, रवि रिझाउनेलाई ‘पद’ उपहार !

मिसन ८४ चुनावका लागि होइन : गणेश कार्की


काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वेबसाइटमा हेर्ने हो भने हाम्रो बारेमा भन्ने कोलममा पार्टीको बारे, पार्टीको उद्देश्य र नीति कार्यक्रम, हामी कसरी फरक छौँ ? हामी के गर्दैनौँ ? भन्ने विषय प्रष्टसँग सबैले हेर्न मिल्ने गरी राखिएको छ ।

ती विषयहरू पढ्ने हो भने भविष्यको नेपालका बारेमा राम्रै दिवास्वप्न देख्न सकिन्छ । हुन पनि हामीले खोजेको र पुराना दलहरूले पूरा गर्न नसकेको देशको अनुहार फेर्ने सपना त्यहाँ प्रस्तुत गरिएको छ ।

रास्वपाले भनेका विषयहरू पूरा हुँदैनन् भन्ने पनि होइन । भविष्यमा ती सपनाहरू पूरा पनि हुन सक्लान् र त्यसको नेतृत्व रास्वपाले नै गर्ला । तर, विश्वस्त हुने आधार भने रास्वपाले अझै तयार गरेको पाइँदैन ।

आफूलाई अरूभन्दा फरक भनेर जनतासामु आएको रास्वपा बिस्तारै पुरानै पार्टीको बाटोमा हिँड्न सुरु गरेको छ । अरू पार्टीप्रति विष बमनदेखि काम गर्ने समयमा ४ वर्षपछिको चुनावका लागि अहिलेदेखि नै ढोल पिट्दै हिँड्नुले रास्वपालाई जनता केन्द्रित भन्दा पनि पार्टी केन्द्रित पार्टीका रूपमा परिभाषित गर्नुपर्ने अवस्था देखिएको छ ।

रास्वपाले ‘हामी के गर्दैनौँ’ भनेर जनतासामु प्रस्तुत गरेको बाचाको तेस्रो बुँदामा ‘प्रतिस्पर्धा, योग्यता र क्षमतालाई नजरअन्दाज गरी ‘टीका’ लगाउने काम गर्दैनौँ’ भनेर स्पष्टसँग उल्लेख गरेको छ । तर, केही दिनअघि मात्र जलेश्वरमा बसेको पार्टीको बैठकले एक हुल रास्वपाका नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गर्‍यो । त्यति मात्र होइन, ११ जनाको केन्द्रीय कार्यसमितिलाई विधानविपरीत बढाउँदै १३ पुर्‍याइयो ।

पार्टीभित्र पदको ठेली

यसअघि रास्वपाको ४० सदस्यीय केन्द्रीय समिति थियो । अहिले यो संख्या ६५ पुगेको छ । जसमा कार्यसमितिको संख्या १३ जना पुर्‍याइएको छ । जबकि पार्टीको विधानमा जम्मा ११ जना हुन पाउने व्यवस्था गरिएको थियो । यसरी हेर्दा रास्वपाले पार्टीको विधान नै पालना नगरेको पाइएको छ ।

रास्वपाको विधानमा १ जना सभापति, २ जना उपसभापति, १ जना महामन्त्री, २ जना सहमहामन्त्री, १ जना कोषाध्यक्ष, २ जना सहकोषाध्यक्ष, १ जना प्रवक्ता र १ जना सहप्रवक्तासहितको केन्द्रीय कार्यसमिति गठन गर्न पाउने व्यवस्था गरेको छ ।

तर, पार्टीको विधानलाई नै मिचेर पदका लागि रास्वपाले कार्यसमितिको संख्या बढाएको देखिन्छ । यहाँ विधानले तोकेकोभन्दा बढी हुने गरी थप १ जना सहमहामन्त्री र १ जना सहप्रवक्ता राखिएको छ । यसले रास्वपाभित्र पदको लालच बढ्दै गएको विषयलाई छर्लंग पारेको छ ।

रास्वपाले आफ्नो पार्टीका बारेमा जनतासामु प्रस्तुत गरेको दस्तावेजमा ‘पार्टीको साधारण सदस्यता लिएका जोकोही नेपाली पनि सीधै सभापतिसम्म हुन पाउने’, ‘पार्टी सदस्यमा नै सार्वभौमिकता निहीत हुने’ जस्ता विषयलाई समावेश गरेको छ ।

तर, थपिँदै गएका केन्द्रीय सदस्य र व्यक्तिहरूलाई रिझाउकै लागि पार्टीको कार्यसमितिमा कोटा थपेको देख्दा रास्वपालाई अरू पार्टीभन्दा फरक कसरी मान्ने ? फरक मान्ने कुनै आधार पनि देखिँदैन ।

अझ अचम्म त के भने पदाधिकारीहरू मनोनयन गर्नुभन्दा केही समयअघि मात्र यस विषयमा रास्वपाभित्रकै जिम्मेवार नेताहरूले थाहा पाएका थिए । अझ स्पष्ट रूपमा भन्ने हो भने सभापति रवि लामिछानेले नै यसबारे एकल निर्णय गरेको अनुमान लगाउन सकिन्छ ।

उता, रास्वपाका केन्द्रीय सदस्य गणेश कार्की भने पार्टीको मिसन ८४ का विषयमा गलत बुझाइ रहेको बताउँछन् । उनका अनुसार मिसन ८४ चुनावका लागि नभएर सत्तामा रहेका दलहरूलाई काम गर्न झकझक्याउने अभियान हो ।

‘हामीले भनेको मिसन ८४ अहिले आमजनताले बुझेको भन्दा फरक हो । अझ यसलाई पुराना दलहरूले चुनावसँग जोडेर प्रचार गरिदिएका कारण पनि भ्रम सिर्जना भएको छ,’ कार्की भन्छन्, ‘हामी चुनाव केन्द्रित भएर हिँडेका होइनौँ, जनतालाई जागरुक गर्न र सत्तामा रहेका दलहरूलाई सचेत गराउँदै उनीहरूले गर्नुपर्ने कामका बारेमा जानकारी गराउने उद्देश्यले मिसन ८४ ल्याएका हौँ ।’

कार्कीका अनुसार ८४ सालसम्म अहिले सरकारमा रहेका दलहरूलाई जनताका लागि समर्पित हुन झकझक्याउने र २०८४ सालपछि रास्वपा नै दुई तिहाइसहित आउने लक्ष्य रास्वपाको छ । त्यस्तै, थपिँदै गएका पदाधिकारीका विषयमा भने गर्नुपर्ने काम धेरै र जिम्मेवारी बढेकाले पदाधिकारी थप गरिएको कार्की बताउँछन् ।

पार्टीभित्र घुसपैठको चिन्ता

उता, पार्टीभित्र बेथिति रहेको वा हुन सक्ने सम्भावना रहेको भनेर स्वयं सभापति लामिछानेले नै बताइसकेका छन् । रास्वपाको जलेश्वरमा भएको बैठकले पारित गरेको सभापति लामिछानेको राजनीतिक प्रतिवेदनमा यसबारे प्रष्टसँग उल्लेख गरिएको छ ।

लामिछानेको प्रतिवेदनमा भनिएको छ– ‘हाम्रो पार्टीमा राम्रा मान्छेलाई आउन नदिने कोसिस भएको हुन सक्छ । त्यो अरू कसैले होइन, हाम्रै पार्टीभित्रैका साथीहरूबाट भइरहेको हुन सक्छ । ‘प्राइमरी’को दुरुपयोग भएको वा हुने जोखिम पनि त्यत्तिकै छ ।’

अन्यत्र उचित स्थान नपाएर, स्वार्थ पूरा हुने नदेखेर र नयाँ दलमा तत्काल सम्भावनाको अवसर पाइन्छ भन्ने लोभले आएकाहरूले आफ्नो पार्टीलाई बद्नाम गराउने सम्भावना पनि बढेको विषयलाई लामिछानेले प्रस्तुत गरेका थिए ।

उक्त प्रतिवेदनमा भनिएको छ, ‘पुराना राजनीतिक दल छाडेर हामीसँग सम्बन्ध गाँस्न आउने साथीहरूमध्ये अधिकांश असल, इमान्दार र निष्ठावान् छन् । तर, केही पूर्वपार्टीकै गलत प्रवृत्ति बोकेर आएको देखिन्छ । फरक राजनीतिक संस्कार र संस्कृतिको पक्षपाती हामीलाई तीमध्ये खराबहरूले क्रमशः दबाब र प्रभावमा पनि पार्न सक्ने देखिन्छ ।’

यसरी हेर्दा रास्वपामा पार्टीभित्रै पनि समस्या रहेको विषय स्पष्ट रूपमा बुझिन्छ । नयाँ र फरक भनेर आएको पार्टीमा पनि पुरानै ढर्राको दाउपेच र राजनीतिक खेल चलेको देखिन्छ ।