एकै ठाँउमा ४ सवारी दुर्घटना, कोशी राजमार्ग अझै खुलेन

एकै ठाँउमा ४ सवारी दुर्घटना, कोशी राजमार्ग अझै खुलेन


 धरान ।

एकै स्थानमा चार सवारी साधन दुर्घटना भएपछि अवरुद्ध भएको कोशी राजमार्गको धरान–धनकुटा सडक खण्ड अझै खुल्न सकेको छैन् ।

राजमार्गको धरान–धनकुटा सडक खण्डस्थित साँगुरीगढी गाउँपालिका–६, कोलबोटे भन्ने स्थानमा गए राति चारवटा सवारी साधन एकआपसमा ठोक्किएर दुर्घटनामा परेको थिए ।

एकै ठाँउमा चार वटा सवारी साधन दुर्घटना भएपछि अवरुद्ध बनेको सडकखण्ड खुलाउन क्रेनको सहायता लिइरहेको प्रहरीले जनाएको छ । सुरुमा दुर्घटनाग्रस्त टिपरलाई पन्छाएर बाटो खुला गर्न नसक्ने भएपछि अर्को क्रेन ल्याउँदा बाटो खुलाउन ढिलाई भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी जाजुबाबु महर्जनले जानकारी दिए ।

शनिबार दिउँसो भेडेटारबाट धनकुटा आउँदै गरेको एउटा टिपर दुर्घटनामा परेको थियो । सोहि टिपरमा साँझ अर्को टिपरले ठक्कर दिएर दुर्घटना भयो । त्यसपछि लगातार अघिल्ला दुर्घटनामा परेको टिपर मै ठोक्किएर अर्को सवारी दुर्घटनाग्रस्त भएको हो । एकपछि अर्को सवारी दुर्घटना भएसँगै सो सडकखण्ड पूर्ण रुपमा अवरुद्ध हुन पुगेको हो ।

पाँचथरबाट विराटनगरतर्फ जाँदै गरेको प्रतिनिधिसभा सदस्य दीपक खड्का सवार प्रदेश १ ०२ ००२ च ३५४५ नम्बरको गाडी समेत दुर्घटनामा परेको प्रहरीले जनाएको छ । उनी सामान्य घाइते छन् ।

ओरालो र घुम्ती सडक भएको कारण दुर्घटा भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले दुईओटा क्रेन घटनास्थलमा लगेर बाटो खुलाउने प्रयत्न गरिरहेको जनाएको छ ।