कसले लगायो मध्यराति परिवारलाई घरभित्रै थुनेर वडाध्यक्षको घरमा आगो ?

कसले लगायो मध्यराति परिवारलाई घरभित्रै थुनेर वडाध्यक्षको घरमा आगो ?


धनकुटा ।

धनकुटा पाख्रीबास नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष देवेन्द्र गुरागाइँको घरमा आगलागि भएको छ ।

सोमबार बिहान १२ः४८ बजेतिर आगलागि भएको हो । आगो नियोजित रुपमा लगाइएको अनुमान गरिएको छ । बाहिरबाट ढोकामा ताल्चा लगाएर थुनिएको अवस्थामा आगलागि भएको थियो ।

घरभित्रै थुनेर कसले आगो लगायो अहिलेसम्म केही खुलेको छैन।

मस्त निन्द्राबाट ब्युँझने बित्तिकै घरमा आगो लागिरहेको थाहा पाएपछि उनी पत्नीसहित बाहिर निस्कन खोजे। तर, धुँवाका कारण सम्भव नभएपछि उनले छिमेकी गुहारे।

एकैछिनमा भेला भएका छिमेकीहरूले भर्‍याङ दिएर झ्यालबाट देवेन्द्र र उनकी पत्नीलाई घरबाट निकाले। बाहिर निस्केपछि सबै मिलेर आगो निभाएका थिए ।

‘पहाडको ढुंगा र माटोको घर भएकाले आगो सल्किन र फैलिन समय लागेर मात्रै हो नत्र हामी बाँच्न पनि कठिन हुने रहेछ’, गुरागाइँले भने, ‘हामीलाई बाहिरबाट ढोकामा ताल्चा लगाएर थुनिएको रहेछ।’

‘यसरी ज्यानै लिने गरी कसले र किन लगायो केही अनुमान गर्न सकेको छैन,’ उनले भने, ‘प्रहरीले अनुसन्धान गरिरहेको छ।’

पाख्रीबासको डाँडाखर्कस्थित घरमा गुरागाइँ दम्ती मात्रै बस्थे। उनीहरूका छोराबुहारी काठमाडौं बस्छन्। उनी नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन्।

उनको घरमा आगजनी गरेको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ। नियन्त्रणमा लिइएका व्यक्तिको परिचय खुलाएको छैन।