एनसेल बिक्री प्रकरणमा बाबुरामले भने- दालमा केही कालाे छ !

एनसेल बिक्री प्रकरणमा बाबुरामले भने- दालमा केही कालाे छ !


काठमाडाैँ ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एनसेलकाे सेयर खरिदबिक्री शंकास्पद देखिएकाे बताएका छन् ।

साेमबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले यस्ताे बताएका हुन् । अर्बौं रकमकाे सेयर काैडीकाे भाउमा खरिदबिक्री हुनु आफैँमा शंकास्पद भएकाे भन्दै यसमा राज्यकाे संलग्नता भएकाे शंका गर्ने प्रशस्त ठाउँ रहेकाे उनले बताएका छन् ।

‘एनसेलको सेयर खरिदबिक्री प्रकरणले प्रथम दृष्टिमै दालमा केही कालो भएको संकेत गर्छ,’ उनले लेखेका छन्, ‘र, नेपालमा वैदेशिक लगानीका गम्भीर समस्या उजागर गर्छ ।’

यदि साँच्चै नै कुनै विदेशी कम्पनी आफ्नो सेयर लगानी वास्तविक मूल्यभन्दा २८ गुणा कम मूल्यमा बेचेर बाहिरिन बाध्य भएको हो भने भोलि अरू कुनै लगानीकर्ता नभित्रिने उनले बताएका छन् ।

उनले अगाडि लेखेका छन्, ‘त्यसो हाेइन र पुँजीगत लाभकर र अन्य कर छल्नकै निम्ति यो नाटक गरिएको हो भने देशलाई यस्ता छलकारी लगानीको के अर्थ रहन्छ ? अर्बौं रकम बराबरका यस्ता हर्कत देशका ऐन नियमविपरीत हाकाहाकी कसरी हुन सक्छन् ? यसमा राज्यका विभिन्न अंगमा हालीमुहाली गर्नेहरूको संलग्नता नभइरहन सक्छ ?’