काठमाडौँ ।
यातायात (यातायात व्यवस्था कार्यालय) भन्नेबित्तिकै सबैको दिमागमा आउँछ– भिडभाड, लामो लाइन, कर्मचारी अति व्यस्त, कसैले सोधेको जबाफ दिने फुर्सद पनि नहुने… यस्तै यस्तै ।
तर, पछिल्लो समय काठमाडौँ उपत्यकाका यातायात कार्यालय, विशेष गरी सवारी चालक अनुमतिपत्र लाइसेन्स शाखाको दृश्य भने फेरिएको छ । अहिले लाइसेन्स बनाउने र नवीकरण गर्ने ठाउँमा त्यस्तो भिड देखिन छाडेको छ । कर्मचारी फुर्सदिला भएका छन् । सानो काम लिएर गएको सेवाग्राही ४–५ ठाउँमा लाइन लागेर दिन बिताउनुपर्ने अवस्था पनि आज छैन ।
किन घट्यो भिड ?
यातायात व्यवस्था कार्यालय एकान्तकुनाका अनुसार पछिल्लो समय पहिलेको तुलनामा ७० प्रतिशतसम्म सेवाग्राही घटेका छन् । यसको पहिलो कारण ट्रायल मापदण्डमा गरिएको परिवर्तन भएको कार्यालय बताउँछ । गत वर्षको मंसिर १४ गतेदेखि बाग्मती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमतिपत्रका लागि लिइने ट्रायल परीक्षामा ७० अंक ल्याए पास हुने व्यवस्था लागू गरेको थियो ।
यसअघि ट्रायल दिँदा कुनै एक ठाउँ गल्ती हुँदा फेल हुने अवस्था थियो । तर, यो व्यवस्था लागू भएसँगै ट्रायल दिनेको संख्या उल्लेख्य रूपमा बढ्यो र अधिकांश पास भए ।सो व्यवस्था लागू भएको छोटो समयमै धेरैले ट्रायल दिएर पास गरेकाले पछिल्लो समय सेवाग्राहीको संख्यामा कमी आएको यातायात व्यवस्था कार्यालय साना/ठुला सवारी एकान्तकुना ललितपुरका कार्यालय प्रमुख हरिहर पोखरेल बताउँछन् ।‘७० प्रतिशतको व्यवस्था लागू भएपछि सुरुमा चाप धेरै भयो । तर, बिस्तारै सेवाग्राहीको संख्यामा भारी मात्रामा कमी आएको छ,’ पोखरेलले विकास टाइम्ससँग भने, ‘अहिले ७० प्रतिशतसम्म सेवाग्राही कम भएको पाएका छौँ ।’
एकान्तकुना कार्यालयमा विशेष गरी ब्लुबुक नवीकरण, सवारीसाधन नामसारी र राजस्वलगायत काम हुन्छ । अहिले आर्थिक मन्दीका कारण पनि सेवाग्राहीको संख्यामा कमी आएको हरिहरको बुझाइ छ ।
‘आर्थिक मन्दीका कारण नयाँ गाडी किनबेच भएको छैन । धेरैले नयाँ गाडी किनेपछि पुरानो गाडी बेच्ने गर्छन्,’ हरिहरले भने, ‘नयाँ गाडीको आयातमा रोक लाग्यो । नयाँ गाडी किनबेच नभएपछि पुराना गाडी पनि किनबेच भएको छैन ।’विगतमा दैनिक २०/२५ वटा गाडी किनबेच हुनेमा अहिले दैनिक ४/५ वटा मात्र हुने गरेको उनले जानकारी दिए । ‘अनलाइन सेवाले गर्दा समेत सेवाग्राही कार्यालयमा आउन कम भएको हो,’ हरिहरले भने, ‘अहिले कार्यालयमा आउँदा समेत छिटै काम हुन्छ ।’
गत असोज २५ गतेदेखि राजस्व भुक्तानी, लाइसेन्स नवीकरण र वर्ग थपलगायत सेवाका काम अनलाइनबाटै भइरहेको छ । त्यो सुविधाका कारण पनि कार्यालयमा सेवाग्राहीको कमी आएको हरिहरको भनाइ छ ।यातायात कार्यालय एकान्तकुनामा मात्र होइन, यातायात कार्यालय चाबहिलको पनि अवस्था उही छ । चाबहिलबाट नयाँ लाइसेन्सको ट्रायल, लाइसेन्स नवीकरण, लाइसेन्स वितरणलगायत काम हुन्छ ।
तर, पछिल्लो समय चाबहिलमा आउने सेवाग्राहीमा पनि उल्लेख्य मात्रामा कमी आएको छ । चाबहिलमा आइतबारदेखि बुधबारसम्म नयाँ लाइसेन्सका लागि आवेदन लिने, ट्रायल लिनेलगायत काम हुन्छ ।
चाबहिलमा आइतबारदेखि बुधबारसम्म भने केही मात्रामा सेवाग्राहीको भिड हुन्छ । तर, बिहीबार र शुक्रबार भने कार्यालय सुनसान जस्तै हुन्छ ।
त्यो समयमा कर्मचारीहरू सेवाग्राही पर्खेर बसिरहेका हुन्छन् । त्यसबेला पनि नयाँ लाइसेन्स लिने, नवीकरण गर्ने, राजस्व तिर्नेलगायत काम भए पनि सेवाग्राही भने आउँदैनन् ।
चाबहिलमा दसैँअघिदेखि नै सेवाग्राहीको संख्यामा कमी आएको यातायात कार्यालय चाबहिलकी सूचना अधिकारी मखमली गिरी बताउँछिन् ।‘दसैँअघि दैनिक १५ सयको हाराहारी सेवाग्राही आउनुहुन्थ्यो,’ मखमलीले भनिन्, ‘अहिले मुस्किलले ७ सयको हाराहारी मात्र आउने गर्नुभएको छ ।’
चाडबाडका कारण पनि सेवाग्राहीको संख्यामा कमी आएको सूचना अधिकारी मखमलीको बुझाइ छ । ‘चाडबाडले गर्दा कम सेवाग्राही आउनुभएको होला भन्ने हो,’ उनले विकास टाइम्ससँग भनिन्, ‘चाडबाड सकिएको यतिका समयसम्म पनि किन आउनुभएको छैन, त्यो थाहा भएन ।’
चाडबाडले मात्र नभई देशबाट ठुलो संख्यामा युवाहरू बिदेसिने कारणले पनि यातायात कार्यालयमा सेवाग्राहीको संख्यामा कमी आएको चाबहिलका कार्यालय प्रमुख कुमार पोखरेलको बुझाइ छ । ‘दैनिक ५ हजारको हाराहारीमा युवाहरू विदेश जाने गरेकाले पनि कार्यालयमा कम सेवाग्राही आएको हुन सक्छ,’ कुमारले भने, ‘धेरै व्यक्तिले लाइसेन्स लिइसकेका कारण पनि कम भएको हुन सक्छ ।’
पछिल्लो सयम घट्दो सेवाग्राहीको संख्या हेर्दा अब यति धेरै संख्यामा यातायात व्यवस्था कार्यालय र कर्मचारी नचाहिने कुमारको बुझाइ छ । ‘अब यति धेरै यातायात कार्यालय पनि नचाहिने अवस्था भयो,’ कुमारले भने, ‘अब नवीकरण र राजस्व उठाउन मात्र यतिका धेरै कार्यालय र कर्मचारी नहुँदा पनि हुन्छ ।’
समस्या ज्यूँका त्यूँ !
धादिङ घर भएका तामाङ थर गरेका सेवाग्राही आफ्नो ए र बी वर्गको लाइसेन्स नवीकरण गराउन चाबहिलको यातायात व्यवस्था कार्यालय पुगेका थिए । उनले ए वर्गको लाइसेन्स भक्तपुरको यातायात कार्यालयबाट लिएका थिए । त्यसमै बी वर्ग थप भने चाबहिलबाट गराएका थिए ।
तर, उनले चाबहिलमा बी वर्गको मात्र नवीकरण गर्न पाए । उनले ए वर्गको नवीकरणका लागि फेरि भक्तपुर नै जानुपर्ने भयो । ‘एकै प्रदेशका कार्यालयमा एउटै प्रकृतिको काम गर्न यसरी दुईतिर किन कुदाएको होला । विदेश जानुपर्ने यसरी दुई–दुईतिर कुदेर कहिले काम सक्ने होला,’ उनले दुखेसो पोखे ।
ड्राइभिङकै लागि पोल्यान्ड जान लागेका दोलाखाका एक सेवाग्राहीले चाबहिलबाट एक दिनअघि मात्र ट्रायल पास गरेका थिए । उनी राजस्व कहिले बुझाउने हो भनेर बुझ्न चाबहिल कार्यालय आएका थिए ।
चाबहिलका कर्मचारीले उनलाई १० दिनपछि आउनू भनेर पठाए । उनलाई वैदेशिक रोजगारीमा जान छिटै लाइसेन्स चाहिएको थियो । तर, उनलाई चाबहिलका कर्मचारीले कम्तीमा ६ महिनामा मात्र लाइसेन्स आउने बताए ।‘मलाई छिटो लाइसेन्स चाहिएको छ,’ उनले भने, ‘यहाँ सोधेको, कम्तीमा ६ महिना लाग्छ भनेको छ । अब के गर्ने हो, म त छक्क परेँ ।’
एकान्तकुना यातायात कार्यालयमा दुई युवा आफ्नो नयाँ कारको पोलुसन (प्रदूषण) जाँच गराउन आएका थिए । जाँच गराउने प्रक्रिया झन्झटिलो भएर उनीहरूले एक जना दलाललाई समाए । ती दलालले आफूलाई पोलुसन जाँचको खर्चबाहेक ८०० रुपैयाँ दिए सबै काम तुरुन्तै गरिदिने बताए ।
आफैँले काम गर्न खोज्दा कार्यालयका कर्मचारीले अनेक प्रक्रिया बताएर हैरान भएका ती युवाहरू पनि दलाललाई ८०० रुपैयाँ दिन तयार भए । नभन्दै ती दलालले कागजपत्र लिएर गए । उनी आफैँ कताकता गए, गाडीधनी युवाहरू चिया खाएर गफ गर्दै बसिरहे ।
करिब एक घन्टा पनि नहुँदै सबै काम सकाएर प्रदूषण पास भएको प्रमाणपत्र लिएर दलाल आए ।‘हामीले गर्दा यो र त्यो भन्थे, उहाँ(दलाल)हरूलाई त केही नचाहिँदो रहेछ त,’ प्रमाणपत्र बुझ्दै ती युवाले भने, ‘बेकारमा दुःख दिनेबाहेक केही रहेनछ ।’एकान्तकुना कार्यालयकै ब्लूबुकको रेकर्ड राख्ने शाखा (ढड्डा) मा अर्का एक दलाल बसिरहेका थिए । उनी बसेको ठाउँमा एक व्यक्ति आए र ब्लुबुक देखाए । उनले भने– ‘सीधै माथि जाऊ, मैले भन्देको छु ।’ ब्लुबुक बोकेका व्यक्ति माथि लाग्नासाथ दलालले फोन गरे र भने ‘मैले एउटा भाइ पठाएको छु, त्यो काम गरिदिनु, म भरे पैसा दिन्छु ।’ नभन्दै बिलबुक लिएर गएका व्यक्तिको तुरुन्त काम भयो । अनि उनी तल झरेर दलाललाई ‘धन्यवाद’ दिए । दलालले ‘ल बाहिर भेट मलाई’ भनेर बाहिर लागे ।
प्रतिक्रिया