आजपनि टिकटक ‘हेर्न नभ्याइने’ सूचीमा

आजपनि टिकटक ‘हेर्न नभ्याइने’ सूचीमा


काठमाडौं ।

सर्वोच्च अदालतले टिकटक प्रतिबन्धविरुद्धको रिट ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ ।

मङ्गलबार सर्वोच्चका न्यायाधीशद्वय सुष्मालता माथेमा र विनोद शर्माको संयुक्त इजलासमा सुनुवाइका लागि पेशी तोकिएको थियो ।

तर न्यायाधीशद्वय माथेमा र शर्माको इजलासले टिकटक प्रतिबन्धविरुद्धको रिट ‘हेर्न नभ्याइने’ सूचीमा राखेको हो ।

यसअघि टिकटक प्रतिबन्धविरुद्धको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले कारण देखाऊ आदेश जारी गर्दै आजका लागि पूर्ण सुनुवाइको मिति तय गरेको थियो ।

टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा १४ रिट निवेदन परेका थिए ।

मङ्सिर ७ गते न्यायाधीश विनोद शर्माको एकल इजलासले ती १४ रिटको एकसाथ प्रारम्भिक सुनुवाइ गर्दै सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको थियो ।

न्यायाधीश शर्माको इजलासले मङ्सिर १५ गतेभित्र टिकटक बन्द गर्नुको कारणसहितको लिखित जवाफ पेस गर्न आदेश गरेको थियो ।

गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।