पक्राउ पुर्जी जारी भएपछि विप्लवले गरे आन्दोलनको घोषणा

पक्राउ पुर्जी जारी भएपछि विप्लवले गरे आन्दोलनको घोषणा


काठमाडौं ।

महासचिवलगायत नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै सो पार्टीले पक्राउ पुर्जीविरुद्ध आज साँझ साढे ५ बजे मशाल जुलुस, २० गते दिनको ३ बजे न्यायाधीशको पुत्लादहन र मंसिर २१ गते २ बजे देशव्यापी जनप्रदर्शनको कार्यक्रम घोषणा गरेको छ ।

आफ्ना नेताहरूविरुद्धको पक्राउ पुर्जी २१ फागुन २०७७ मा सम्पन्न तीनबुँदे सहमतिको ठाडो उल्लंघन मात्र नभइ देशका समस्यालाई शान्तिपूर्ण तरिकाले निकास दिन भइरहेका गम्भीर पहलमाथिको विध्वंसात्मक हमला भएको सो पार्टीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

‘आमनागरिकलाई थाहा छ कि प्रतिबन्ध हटाउँदा राज्यसँग गरिएको ३ बुँदे सहमतिमध्ये एउटा बुँदा पार्टी नेतारकार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता लिने र बन्दी कमरेडहरूलाई मुक्त गर्ने छ । राज्यका सहमतिलाई कानुनको अंग बनाएर समस्याहरूलाई समाधान गर्न मद्दत गर्नुपर्ने मुख्य अङ्ग अदालतले नै गैरकानुनी कदम चाल्नु भनेको देशमा शान्ति भाँड्न अदालत र न्यायधीश नै सक्रिय बनेको त होइन भन्ने आशंका पैदा भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।