क्रोएसिया पठाउँछु भनेर १२ करोड झ्वाम

क्रोएसिया पठाउँछु भनेर १२ करोड झ्वाम


काठमाडौं । 

क्रोएसिया लैजाने भन्दै सुर्खेतका रिदम भनिने कृष्णबहादुर रानामगरले १२ करोडभन्दा धेरै रकम ठगी गरेको भन्दै पीडितहरू न्यायको याचना गर्दै मिडियामा आएका छन् । 

विभिन्न सरकारी निकाय, प्रहरी प्रशासन आफूहरु ठगिएको प्रमाणसहित पटक पटक आउँदापनि न्याय नपाएको भन्दै पीडितहरुले आफूहरु यतिवेला मर्नु न बाँच्नुको अवस्थामा रहेको पीडा सुनाए । 

रिदम भनिने कृष्णबहादुर रानामगरको गिरोहबाट ठगिने १५० जनाभन्दा धेरै रहेको खुलेको छ । जसमा अधिकांश युवायुवतीहरु दोलखाका रहेका छन् । दोलखाका धेरै युवाहरु ठगिनुमा सोही जिल्लाका गोकुल बहादुर कार्की कारण रहेको खुलेको छ । ती झण्डै ७० वर्षका गोकुल दोलखाको गौरीशंकर गाउँपालिकाका स्थायी वासिन्दा हुन् ।

रिदमले तिनै गोकुलबहादुर कार्कीको सोझोपनको फाइदा उठाएको खुलेको छ । गोकुलले नै दोलखाका अधिकांश आफ्नो नाता पर्नेहरुको पासपोर्ट भेला आएर रिदमलाई बुझाएको र सोसँगै नगदै रकम पनि बुझाएको खुलेको छ । 

पत्रकार सम्मेलनमा गोकुलले रिदमसँगको सुरुवाती चरणको चिनजानबारे यसरी प्रकाश पारे–‘रिदम भन्ने भाईले, उसँग गोंगबु भन्ने चोकमा भेट भएको हो । सुरुमा फोन पाईयो, त्यसपछि उसले क्रोएशियाको काम गरौं बुवा भन्यो । म भटाभट काम गर्छु भनेर भन्यो । तपाईंका नातागोता, छोराछोरी छन् भने म क्रोएशिया पठाईदिन्छु भन्यो । एक सालजति कुराकानी गरें । एक वर्षपछि उसैले फोन गर्यो । तपाईं कहाँ हुनुहुन्छ भनेर फोन गर्यो । रिदम भन्ने कृष्णबहादुर रानामगर र बबिन तामाङले हामीलाई ठग्ने जालो बुनेको रहेछ । सुरुमा उसले मोवाइलमा भिसा पठायो । पछि टिकट भयो भन्छ । पैसा बुझाईयो । एक करोड रुपैयाँ ११ लाख पैसा बुझाईयो । अहिलेसम्म पासपोर्ट पनि छैन् । मान्छेपनि छैन् । सहकारीमा ऋण काढेर ल्याएका हौं । दसैंपनि राम्रो मान्न पाएनौं । यो मान्छेलाई जहाँ भेटेपनि पक्राउ गरेर राज्यलाई बुझाउनुहोला ।’

उनले आफूसँग भिसामात्रै नभएर जहाजको टिकटपनि भयो अब काम भैहाल्छ भनेर बोलेको आवाजको रेकर्डपनि सुरक्षित रहेको सुनाए । तर, पछि रिदमले आफूहरुलाई नक्कली भिसा बनाएर ठगी गरेको खुलासा भएपछि छाँगाबाट खसेजस्तै भएको कार्कीको भनाई छ ।

उनले रिदम भनेर चिनिने कृष्णबहादुर रानामगरको घर सुर्खेत स्थायी घर हो अरे भन्ने सुन्नमा आएको सुनाए । उनकाअनुसार दोलखा जिल्लाबाट मात्रै रिदमले २ करोड रुपैयाँ पैसा असुली गरेको रहेछ । रिदमबाट अहिलेसम्म क्रोएशिया जाने नाममा १५० जना ठगिएको पीडितहरुले सुनाए । रिदमले आफूहरुसँग जनही ७ देखि ९ लाखको दरले रकम असुली गरेको छ । 

ठगिएका १५० जनामध्ये ६० देखि ६५ जना नियमित सम्पर्कमा छन् । पीडितहरुले आफूहरुसँग रिदम र उनको गिरोहलाई पैसा दिएको बैंक डिटेल सबै सुरक्षित रहेको पनि दाबी गरेका छन् । 

आफूहरु यसरी ठगिएको धेरै लामो समय भएको र न्यायको लागि विभिन्न सम्बन्धित ढोकाहरु ढक्ढक्याउँदापनि कुनै सुनुवाई नभएकोमा उनीहरुले चिन्ता व्यक्त गरे ।  

यो ठगी प्रकरणमा पनि मुख्य ठग रिदमले आफूलाई बचाएर अरुलाई फसाउनेगरि काम गरेको उनीहरुको भनाई छ । रिदमले नगद आफू बुझ्ने भएपनि बैंकिङ च्यानलमार्फत हुने कारोबारमा भने आफ्ना मान्छेहरुमार्फत कारोबार गरेको छ । सिमा वाईबा रिदमले आफ्नी श्रीमती भनेको व्यक्तिमार्फत कारोबार गरिएको केही पीडितले सुनाए । यस्तै, रिदमको गिरोहमा मिनाकुमारी पुन मगर, देवी लामा, ओमकुमारी खपांगी पनि सक्रिय थिए । उनीहरुविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएपनि अहिलेसम्म पक्राउ नगरिएकोमा भने पीडितहरुले आक्रोश पोखे । 

पीडितहरुले यसरी युवाहरुको सपना र पैसामाथि खेलबाड गर्ने ठगले प्रहरी–प्रशासनलाई पनि मिलाएको आफूहरुलाई शंका लागेको सुनाए । पीडितहरुमध्येका दोलखा स्थायी घर भएका सुजन शाहीले आफ्नो ७ लाख ५० हजार खाएकोमा ६ लाख २५ हजार उठ्न बाँकी रहेको सुनाए ।