‘खसी’ पारेको कुकुरले मान्छे टोक्दैन र ?

‘खसी’ पारेको कुकुरले मान्छे टोक्दैन र ?


दाङ ।

गाउँघरमा कुकरले टोक्दा रेबिज लाग्छ र बहुलाइन्छ भनेर रेबिजविरुद्धको सुई लगाउनुपर्छ भन्ने कथन थियो । तर, यहाँ कुकुरले टोक्दा ‘खसी’ पार्ने चलन चलेको छ ।

गाउँका भुस्याहा कुकुरले मान्छे टोक्न थालेपछि दाङको तुलसीपुरमा धमाधम कुकुरहरूको बन्ध्याकरण गर्न थालिएको छ ।

के  बन्ध्याकरण गरेका कुकुरले सिनो नखाने र मान्छे नटोक्ने भन्ने हुन्छ ? मान्छे टोक्ने कुकुरलाई रेबिजविरुद्धको सुई लगाउने हो कि बन्ध्याकरण गर्ने हो ?

तुलसीपुर उपमहानगरले स्थानीयलाई बन्ध्याकरण गरेका कुकुरले मान्छे नटोक्ने भ्रममा पारेको छ । तुलसीपुर उपमहानगरपालिका–१८ को बेलझुण्डी गौशालामा गाईबस्तु खोरेतका कारण मरेका थिए ।

ती गाईको सिनो खाएका कुकुरले गाउँ–गाउँमा डुल्दै मानिस र जीवजन्तुलाई टोक्न थालेपछि बुधबारदेखि तुलसीपुर उपमहानगरपालिका–१८ मा रहेको पशुपन्छी उपचार केन्द्रमा राखेर बन्ध्याकरण सुरु गरिएको छ ।

उपमहानगरपालिका–१७ र १८ का विभिन्न ठाउँमा सामुदायिक कुकुरले बालबालिका र जीवजन्तुलाई टोक्न थालेपछि बन्ध्याकरण सुरु गरिएको हो ।

एक हप्ताको अवधिमा सामुदायिक कुकुरले ५ जनालाई टोकेका छन् । एक जना बालकलाई घाइते बनाएका छन् । भेटेरिनरी पशुविज्ञ केन्द्र घोराही, हर्ट नेपाल पोखरा र तुलसीपुर उपमहानगरपालिका–१८ ले सामुदायिक कुकुर बन्ध्याकरण सुरु गरेको जनाएको छ ।

हर्ट नेपालका अध्यक्ष खगेश्वर भट्टराईले नेपालमा रेबिज रोगका कारण प्रत्येक वर्ष दुईसय बढीले अनाहकमा ज्यान गुमाउनु परेको बताए । उनले सामुदायिक कुकुरलाई संख्यात्मकरुपले कम गर्न बन्ध्याकरण नै अन्तिम विकल्प भएको बताए ।

पशु भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र दाङका निमित्त कार्यालय प्रमुख प्रतिमा विष्टले यस क्षेत्रका कुकुरको सङ्ख्या बढी भएको र मानिसलाई टोक्न थालेपछि वडा कार्यालयको सहकार्यमा सामुदायिक कुकुर बन्ध्याकरण गरिएको बताए ।

उनले एक हप्ताअघि मात्र राप्ती गाउँपालिकामा तीनसय सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको बताए । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले यस क्षेत्रमा कुकुरको सङ्ख्या बढी भएको र मानवीय क्षति गर्न थालेपछि बन्ध्याकरण सुरु गरिएको बताए ।

उनले आगामी वर्षको बजेटमा १९ वटै वडाका सामुदायिक कुकुर बन्ध्याकरणका लागि बजेटमै व्यवस्थापन गरिने बताए । ४ दिनसम्म चल्ने शिविरमा बुधबारसम्म यस क्षेत्रमा भएका ७३ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको छ ।