काठमाडौँ ।
पुष्पकमल दाहाल प्रचण्ड २०६२÷६३ सालमा मूलधारको राजनीतिमा प्रवेश गरेका हुन् । अहिलेसम्म ३ पटक प्रधानमन्त्री बनेका उनी करिब ३३ वर्षदेखि एउटा विचारको नेतृत्वमा छन् ।
जनताको चाहना भन्दै १० बर्से जनयुद्धमा लागेका उनी कुनै समय आफू नै जनताको एकमात्र मसिहा भएको घमण्ड गर्थे । तर, अहिले उनै प्रचण्ड जनतालाई भरोसा कसरी दिलाउने भनेर छटपटिरहेका छन् ।
बुधबार ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा ‘नेपालको अर्थतन्त्र र शासकीय सुधार’सम्बन्धी अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि थिए, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।
अन्तक्र्रिया कार्यक्रममा प्रधानमन्त्रीले आफ्नो मन्तव्य दिँदै भनेका थिए, ‘मैले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा राष्ट्रको प्रतिष्ठा बढाउने जमर्को गरिरहेको छु । वर्तमान सरकार गठन भएको १ वर्ष पूरा हुँदै छ । अर्को वर्ष नयाँ सुरुआत गर्नुपर्ने छ । जसले जनतालाई नयाँ भरोसा दिन सकोस्, म त्यसको खोजीमा छु ।’
उनको उक्त अभिव्यक्तिबाट बुझिने आशय पनि यही नै हो । २०५१ सालदेखि जनताका लागि भन्दै लडेका उनले करिब ३० वर्षसम्म जनताको चाहनालाई बुझेका छैनन् भने उनले अहिलेसम्म जनताका लागि के गरे ? यो प्रश्न उनैका लागि हो ।
उनको भनाइअनुसार ३ पटकसम्म देशको प्रधानमन्त्री बनेका उनले अहिलेसम्म जनतालाई भरोसा दिलाउन सफल भएका रहेनछन्, यसलाई उनकै अभिव्यक्तिले प्रष्ट पार्छ ।
यस विषयले प्रचण्ड यतिका वर्षसम्म कसका लागि राजनीति गरिरहेका थिए भन्ने संशय उत्पन्न हुन्छ । प्रचण्डका विभिन्न गतिविधि र पारिवारिक मोहले गर्दा उनको राजनीति परिवार केन्द्रित रहेको सहज अनुमान भने लगाउन सकिन्छ । पारिवारिक भरोसामा मात्र केन्द्रित भएका उनलाई बल्ल जनताको भरोसाको याद आयो ।
परिवारका सदस्यहरूलाई राजनीतिक लाभ दिलाउन सफल भएका उनले अहिलेसम्म उनीहरूको मात्र भरोसा जितेका थिए । छोरीदेखि ज्वाइँ र सम्धीदेखि भतिजासम्मलाई उनले राज्यको उपल्लो ओहोदासम्म पु¥याए ।
तर, जनताकै बलिदानले गर्दा पाएको सफलतामा उनले तिनै जनताका लागि भने खासै केही गरेको देखिएन । समाजवादको व्याख्यालाई परिवारवादभन्दा माथि उठाउन नसकेका प्रचण्ड सधैँ आफैँमा मात्र केन्द्रित रहेको उनको विगतले पनि देखाउँछ ।
उनकी माइली छोरी रेनु दाहाल विगत ६ वर्षदेखि भरतपुर महानगरको मेयर छिन् भने कान्छी छोरी स्वकीय सचिवको नाममा देशको ढुकुटीमा राज गर्दै छिन् । उता, रेनुका श्रीमान् अर्जुन पाठक भरतपुरको बागडोर सम्हाल्न रेनुलाई सहयोग गर्दै छन् भने गंगाका श्रीमान् प्रचण्डकै सहारामा कोशी प्रदेशको सभासद् छन् । साथै, प्रचण्डकै जोडबलमा मन्त्रीको स्वाद पनि चाखिसकेका छन् । कुनै समय नेपाली कांग्रेसको राजनीतिमा लागेका आचार्य गंगा दाहालसँग विवाह गरेपछि जय नेपालबाट लालसलाम भन्ने भए ।
प्रचण्डले आफ्ना अर्का ज्वाइँ सागर केसीलाई पनि भरोसा दिलाउन सफल भए । कुनै समय केसीको संसद् सचिवालयदेखि कृष्णबहादुर महरा र अग्नि सापकोटा सभामुख रहेका बेला सचिवालयसम्म रहेर काम गरे ।
प्रचण्डका भाइ नारायण दाहाल पनि प्रचण्डकै सहारामा देशको नेतृत्व तहसम्म पुगे । प्रचण्डकै आडमा पार्टीको सदस्यदेखि राष्ट्रियसभा सदस्यसमेत बने नारायण दाहाल । नाताले भतिजा पर्ने महेश दाहालका लागि पनि प्रचण्ड अवसरको मुहान बनेर खडा भए । उनकै जोडबलमा महेश दाहाल अस्ट्रेलियाका लागि नेपाली राजदूत पनि बनेका थिए ।
यी त केही उदाहरण मात्र हुन् । छोरीका ससुरादेखि ज्वाइका आफन्तसम्मलाई प्रचण्डले हात खाली राखेका छैनन् । सबैलाई केही न केही दिएकै छन् । त्यो पनि उनको गोजीबाट नभई देशको ढुकुकीबाट ।
जनयुद्ध लडेर छविलाललाई प्रचण्डलाई बनाउने आमनागरिक आज पनि २०५० सालतिरकै अवस्थामा छन् । तर, प्रचण्ड आज जंगलबाट बसाइँ सरी दरबारमा छन् । जनता देशबाट विदेश पुगेका छन् ।
आँखा चिम्लिएर विश्वास गर्दै संघर्ष र बलिदान गरेर नेतृत्वमा पु¥याएका जनताप्रति प्रचण्डलाई आज विश्वास छैन । तिनै प्रचण्ड जनतालाई भरोसा दिलाउन भन्दै नयाँ खोजीमा छन् ।
प्रतिक्रिया