विराटनगर ।
भ्रष्टाटार मुद्दामा अदालतबाट दोषी ठहर भइ सजाय सुनाइएका पाँचजना फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुलाई सजाय भुक्तानका लागि मोरङ जिल्ला कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई मोरङका विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।
कोशी प्रदेश प्रहरी कार्यालयको सुरक्षा सुनिश्चितता अभियान २०८० अन्तरगत फरार प्रतिवादी पक्राउ अभियानलाई निरन्तरता दिने क्रममा पाँचजना अभियुक्त पक्राउ परेका हुन् ।
भ्रष्टचार (राजश्व रकम हिनामिना) मुद्दामा ती अभियुक्तलाई विशेष अदालत बबरमहल, काठमाडौको मिति २०७९ चैत ८ गतेको फैसलामा सजाय तोकिएको थियो ।
पक्राउ पर्नेमा ७ वर्ष ११ महिना २३ दिन कैद र ४ करोड ३४ लाख ५ हजार ५ सय ९४ रुपैयाँ जरिवाना तोकिएका विराटनगर महानगरपालिका–३ का मणिराज दाहाल, ६ बर्ष कैद र १ करोड १ लाख ६५ हजार ८ सय १२ रुपैयाँ जरिवाना तोकिएका कुमारबहादुर कटुवाललगयात छन् ।
पक्राउ पर्ने अन्यमा ९ बर्ष कैद र २८ करोड १५ लाख ९३ हजार ८ सय ८४ रुपैयाँ जरिवाना तोकिएका टिकाराम अधिकारी, ८ बर्ष ६ महिना कैद र २२ करोड ४५ लाख २७ हजार ६ सय ७६ रुपैयाँ जरिवाना तोकिएका देवराज नेपाल र ८ वर्ष कैद र १२ करोड ३५ लाख २९ हजार ३ सय ४२ रुपैयाँ जरिवाना तोकिएका विराटनगर–४ का नयराज नेपाल रहेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई पक्राउपछि मोरङ जिल्ला अदालतमा उपस्थित गराएर जरिवाना र कैद भुक्तानका लागि मोरङ जिल्ला कारागार पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया