३० प्रतिशतले बढ्यो रेमिट्यान्स

३० प्रतिशतले बढ्यो रेमिट्यान्स


काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले रेमिट्यान्स ३० प्रतिशतले बढेको जनाएको छ ।

मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा शुक्रबार सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले विप्रेषण आप्रवाह (रेमिट्यान्स) ३० प्रतिशतले वृद्धि भएको जनाएको हो ।

विप्रेषण आप्रवाहमा भएको उल्लेख्य वृद्धिका कारण चालु खाता तथा शोधनान्तर स्थिति बचतमा राख्न सहयोग पुगेको बैंकले दाबी गरेको छ ।

चालु आर्थिक वर्षको ३ महिनामा चालु खाता ५९ अर्ब ९ करोड र शोधनान्तर स्थिति ९९ अर्ब ७ करोडले बचतमा छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चालु खाता ३५ अर्ब २४ करोडले घाटामा र शोधनान्तर स्थिति १२ अर्ब ४३ करोडले बचतमा थियो ।

शोधनान्तर स्थितिमा आएको सुधारका कारण विदेशी विनिमय सञ्चितिमा पनि सुधार भई २०८० असोज मसान्तमा १६४३ अर्ब ९ करोड पुगेको छ, जुन करिब १०.३ महिनाको वस्तु तथासेवा आयात धान्न पर्याप्त रहेको छ ।