लुम्बिनी ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री सुदन किराँतीले भैरहवाका व्यवसायीलाई आन्दोलन स्थगित गर्न आग्रह गरेका छन् ।
शुक्रबार बेलुका गौतमबुद्ध विमानस्थलमा आन्दोलनरत पक्षसँग कुराकानी गर्दै मन्त्री किराँतीले भने, ‘आन्दोलन गरेर हुँदैन । भएको पनि झन् झन् बिग्रिन्छ । त्यतातिर नजान म गम्भीरताका साथ अनुरोध गर्दछु । देश अप्ठयारो अवस्थामा छ । अप्ठयारोका बीच हामीले समस्या समाधान गर्नुपर्नेछ ।’
मन्त्री किराँतीले आन्दोलन गरेर आजको भोलि नै जहाज चल्न नसक्ने भन्दै उद्योगी–व्यवसायीको आवाज सरकारले सुनिरहेको बताए । उनले नेपाल वायु सेवा निगमसँग धेरै हवाईजहाज हुनुपर्ने भए पनि हुन नसकेको बताए । उनले भने, ‘त्यसका लागि लिजमा लिएर जहाज चलाउन प्रक्रिया अघि बढेको छ ।’
‘एउटा जहाज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा स्ट्यान्डबाई राख्ने सोच बनाएका छौँ । दिनको ४ वटाभन्दा बढी अन्तर्राष्ट्रिय उडान गर्ने कम्पनीले अनिवार्य एउटा उडान भैरहवाबाट गर्नुपर्ने निर्णय हामी निर्ममतापूर्वक गर्दै छौँ,’ मन्त्री किराँतीले भने, ‘जहाज किन्ने र लिजमा ल्याउने कोसिसमा हामी लागेका छौँ । जहाज थप्दै छौँ ।’
‘जहाज ल्याउन नदिनका निम्ति धेरैले सम्पूर्ण शक्ति लगाएका छन् । यसमा पनि तपाईँहरू बोल्दिनुपर्याे,’ उनले भने, ‘हवाई रुटको सन्दर्भमा आफ्नो तर्फबाट कूटनीतिक पहल गरेको र प्रधानमन्त्री स्वयंले उच्चकोटीमा प्रस्ताव राखेर भारतका प्रधानमन्त्रीसँग कुरा गर्नुभएको छ । हामी लागिपरेका छौँ, समस्या समाधान हुन्छ ।’
‘राज्यले विमानस्थल चलाउनका लागि नै बनाएको हो । हामी सबै मिलेर चलाउनुपर्नेछ । सामूहिक प्रयास बेगर हुँदैन,’ मन्त्री किराँतीले भने ।
त्यस्तै मन्त्री किराँतीसँगै विमानस्थलमा उपस्स्थित रहेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले समस्या समाधानका लागि अब परिणाम तथा निष्कर्ष निस्किने गरी राउन्ड टेबल बैठक गर्न आवश्यक रहेको बताए ।
प्रतिक्रिया