क्रिसमसको सामूहिक भोज खाँदा देवीको मृत्यु, १८ जना बिरामी

क्रिसमसको सामूहिक भोज खाँदा देवीको मृत्यु, १८ जना बिरामी


लमजुङ ।

लमजुङमा सामूहिक भोज खाएकामध्ये १ जनाको मृत्यु भएको छ भने १८ जना बिरामी परेका छन् ।

सुन्दरबजार नगरपालिका–९ की देवी परियारको अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो

स्थानीय क्षेत्रबहादुर गुरुङको घरमा क्रिसमसको उपलक्षमा राखिएको सामूहिक भोजमा उनीहरू सहभागी भएका थिए ।

भोजमा ३५ जना सहभागी भएकोमा १८ जनालाई समस्या देखिएको हो । बिरामीलाई सुन्दरबजारको एचडिसिएस नमुना सामुदायिक अस्पतालमा भर्ना गरिएको छ ।

शुक्रवार भोज खाएका उनीहरूलाई शनिबारदेखि समस्या देखिन थालेको लमजुङ प्रहरीले जानकारी दिएको छ । सुरुमा घरमै उपचार गरिए पनि स्थिति सुधार नभएपछि उनीहरूलाई अस्पताल भर्ना गरिएको प्रहरीको भनाई छ ।

भोजमा सहभागीहरूले भात, दाल, कुखुराको मासु र मुलाको अचार खाएको बताएका छन् । तर कुन खानामा समस्या आएको भन्ने खुलेको छैन । उनीहरूलाई पखाला र ज्वरो देखिएको अस्पतालले जनाएको छ ।