हत्या अभियुक्त कोइरी खोज्दै नाबालक छोरासहित थमनकी श्रीमती काठमाडौँमा

हत्या अभियुक्त कोइरी खोज्दै नाबालक छोरासहित थमनकी श्रीमती काठमाडौँमा

विकास टाइम्स
1.9k
Shares

काठमाडाैँ ।

नेपालगन्ज-२५ शान्तिनगरका सशस्त्र प्रहरी सहायक निरीक्षक थमनबहादुर विकलाई महोत्तरीमा मधेस आन्दोलनको समयमा लखेटीलखेटी निर्ममतापूर्वक हत्या गरेको ८ वर्ष बितेको छ ।

यो अवधिमा विकको हत्या हुँदा ३ वर्षका रहेका उनका छोरा सुबोध विक ११ वर्ष पुगेका छन् । यसैमध्ये नियोजित ढंगले लाठी र जुत्ता बजारेर निर्मतापूर्वक हत्या गरेको आरोप लागेका मुख्य आरोपी लक्ष्मी महतो कोइरी महोत्तरी-१ बाट संघीय सांसद निर्वाचित भए पनि निलम्बनमा परेका छन् ।

निलम्बनसँगै पक्राउ पर्ने डरले फरार रहेका कोइरीलाई खोज्दै नेपालगन्जबाट थमनका छोरा र श्रीमती शाेभा विक यतिबेला संघीय राजधानी आएर न्यायको याचना गरिरहेका छन् ।

प्रमाणसहित ८ वर्षअघि मृतक थमनका दाजु प्रेम विकले किटानी जाहेरी दिएका उनै कोइरीलाई खोज्दै श्रीमती शाेभा र उनका छोरा सुबोध राजधानी आइपुगेका हुन् ।

‘संघीय राजधानी आएपछि न्याय पाइन्छ कि भनेर छोरालाई लिएर यहाँ आइपुगेकी छु,’ थमनकी श्रीमती शाेभाले भनिन् ।

अहिले थमनका छोरा सुबोध घरी-घरी आमालाई बुबाका बारेमा सोध्ने गर्छन् । बुबाको फोटो हेर्दै टोलाउँदै गर्ने सुबोधकाे बालमष्तिकमा पछिल्लो समय समाचारमा आएका विषयवस्तुले गहिरो चोट पुगेको आमा शाेभा बताउँछिन् ।

२०७२ साल भदौ २५ गते आन्दोलनकारीलाई नियन्त्रणमा लिने क्रममा घाइते भएका थमनलाई उपचारका लागी एम्बुलेन्सबाट जनकपुर लैजाँदै गर्दा त्यहाँबाट निकालेर धानबारीमा लखेटेर कोइरी नेतृत्वकाे टोलीले थमनको हत्या गरेको आरोप लागेको थियो ।

समाचारबाट यी विषयहरू थाहा पाएका सुबोधकै आग्रहमा आमा शाेभा काठमाडाैँ आइपुगेकी हुन् । ‘छोराले निकै कर गरेपछि न्यायको खोजीमा काठमाडाैँ आइपुगेका छौँ,’ शाेभाले भनिन्, ‘संघीय राजधानी आएपछि न्याय पाइन्छ भन्ने उद्देश्यले हारगुहार गर्न यहाँ आएका हौँ ।’

एम्बुलेन्सबाट थुतेपछि धानबारीमा लखेटेर मुक्का र लात्ती बजार्दै निर्मम ढंगले हत्या गरेको दृश्य सम्झिँदा श्रीमती शाेभा अहिले पनि निकै दुखित हुन्छिन् ।

यही घटनाका कारणले शाेभाले अहिले पनि डिप्रेसनको औषधि खान छाडेकी छैनन् । ‘मन दह्राे बनाउन नै सक्दिनँ । छोरालाई हेरेर मन दह्राे बनाऔँ भन्छु, सकेको छैन ।’

अझ श्रीमानकाे हत्या गर्ने मुख्य योजनाकार भनिएका कोइरीलाई उन्मुक्ति दिँदा आमा शाेभा मात्र हाेइन, उनका छोरा सुबोध पनि दुखी छन् ।

‘हुन त राज्यले छोरालाई नि:शुल्क पठनपाठन गराइदिएको छ । उहाँको मासिक पैसा पनि मलाई आउँछ न्यायबिनाको यो सबै फिक्का बनेको छ,’ शाेभाले भनिन् ।

मृतक थमनका दाइ प्रेमले दिएको मुद्दामा २०७५ साउन २८ मा जिल्ला अदालत महोत्तरीले २८ जनामाथि मुद्दा दर्ता गरेको थियो । तीमध्ये लक्ष्मी महतो कोइरीलाई तारेकमा रिहा गर्ने निर्णय गरेको थियो । तर, साउन २८ मा जिल्ला अदालत महोत्तरीले गरेको आदेशमा त्रुटि भएको भन्दै सरकारी वकिल कार्यालय महोत्तरीले असोज ११ मा उच्च अदालत जनकपुरमा रिट दायर गरेको थियो।

साधारण तारेखमा छुटेका अभियुक्तहरूलाई थुनामा राखेर अनुसन्धान गनुपर्ने मागसहित सरकारी वकिलले उच्च अदालतमा हालेको रिटमाथि सुनुवाइ गर्दै फौजदारी अभियोगमा पुर्पक्षका लागि जेल चलान गर्नुपर्ने सजाय सुनाएदेखि फरार कोइरीले मंसिरको आमचुनाव महोत्तरी-१ बाट जितेका थिए ।

७ पुस, २०७९ मा प्रतिनिधिसभा सदस्यहरूको शपथ ग्रहण कार्यक्रममा सरिक हुन उनी नयाँबानेश्वरस्थित संसद् भवन छिरेका थिए । त्यसपछि २५ पुसमा बसेको प्रतिनिधिसभाको पहिलो बैठक र २६ पुसको दोसो बैठकमा कोइरी उपस्थित भएको संसद्काे रेकर्ड छ ।

३ पटकसम्म संसद् भवन छिरेर निस्किँदा समेत नसमातिएका कोइरीलाई ६ माघ, २०७९ मा गृह मन्त्रालयले पक्राउ गर्न देशभरका जिल्ला प्रशासनलाई निर्देशन दिएको थियो । तर, अझैसम्म उनी भेटिएका छैनन् ।

तर जानाजान हत्या गरेको दृश्य देखेका मृतक थमनका श्रीमती शाेभा र याे खबर थाहा पाएका छोरा सुबोध भने न्याय माग्दै चौतर्फी याचना गरिरहेका छन् ।