छोरी जन्मनसाथ ५ हजार दिँदै पालिका

छोरी जन्मनसाथ ५ हजार दिँदै पालिका


स्याङ्जा ।

लिङ्गका हिसावले छोरा भए खुशी हुने समाजलाई परिवर्तन गराउन गल्याङ नगरपालिकाले नगरकी ‘छोरी’ कार्यक्रम शुरु गरेको छ ।

लिङ्गका आधारमा विभेद गर्ने परिबेसको अन्त्य गर्न नगरपालिकाले नगरकी ‘छोरी’ कार्यक्रम मार्फत प्रोत्साहन स्वरुप नगद दिने अभियान हुरु गरेको हो ।

महिला शसक्तिकरणका लागि छुट्टाइएको बजेट मार्फत यो कार्यक्रम शुरु गरिएको नगरपालिकाले जनाएको छ ।

गल्याङ नगरपालिका ३ की मिना दर्जीकी आठदिनकी छोरीको नाममा गरिमा विकास बैंकमा खाता खोलेर शुभारम्भ गरिएको छ । उनको नाममा ५ हजार रकम बैंकमा जम्मा गरिएको छ ।

आर्थिक बर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रममा समेत यो अभियानलाई समेटेको थियो । हाम्रो समाज अझैपनि छोरा भए खुशी हुने अवस्था रहदै आएकोले यसको अन्त्य गर्नका लागि यो कार्यक्रम शुरु गरिएको गल्याङका नगर प्रमुख गुरुप्रसाद भट्टराईले बताए ।

आर्थिक बर्षको साउनदेखी यता जन्मिएका छोरीहरुलाई नगरपालिकाले बैंकमा खाता खोलेर ५ हजार जम्मा गरिदिने छौं नगर प्रमुख भट्टराईले भने,‘यो रकम छोरी १८ बर्ष पुगेपछि मात्रै झिक्न पाइनेछ ।’ महिला पुरुषको अन्त्य गर्न यो कार्यक्रमले सहयोग पुग्ने विश्वास हामीले लिएका छौं उनले भने ।

नगरपालिकाले कार्यविधि नै बनाएर यो कार्यक्रमलाई दिगोरुप दिने तयारीमा रहेको भट्टराईले बताए । पहिलो सन्तान छोरा भयो भने अर्को सन्ताननै नजन्माउने परिपाटी समेत बसेको छ उनले भने,‘छोरी पनि आवश्यकता हो भन्ने सन्देश समााजलाई यो कार्यक्रमले दिएको छ ।’ गर्भअवस्थामा छोरा भए राख्ने र छोरी भए नराख्ने बिषयको अन्त्य गर्न यो कार्यक्रमले टेवा पुग्ने विश्वास छ उनले भने ।

संविधानले महिला अधिकार सुनिश्चित गरेपनि समाजमा अझै पनि छोरीलाई हेर्ने दृष्टिकोण फरक रहदै आएको छ । ५ छोरी जन्माएकी मिना दजीले छोरा पाउने आशमा छैठौं सन्तान पनि छोरीनै जन्माएकी छन् । उक्त घरमा पुगेर गल्याङ नगर उपप्रमुख हेमा न्यौपानेले हौसला प्रदान गर्दै बैंकमा खाता खोलेर कार्यक्रमको शुभारम्भ गरेकी थिइन् ।

छोरी पाउनुपर्छ भन्ने हौसला दिन यो कार्यक्रम अगाडी सारिएको हो उनले भनिन्, ‘महिला पुरुष नभए सुष्टि कसरी चल्छ, अनि समाज कसरी बन्छ ।’ अझैपनि हाम्रो समाज महिलामाथीको विभेदमा चलिरहेको छ, यसको अन्त्य गर्न आवश्यक छ उनले भनिन् । महिलाहरुका लागि बिभिन्न कार्यक्रमहरु नगरपालिकाले ल्याएको जानकारी न्यौपानेले दिइन् । गर्भावस्थामा अण्डावितरण, सुत्केरी भेटघाट जस्ता महिला शसक्तिकरण कार्यक्रम अगाडी सारिएको उपप्रमुख न्यौपानेले बताइन् ।

नगरपालिकाले ल्याएको नगरकी ‘छोरी’ कार्यक्रम मार्फत सुत्केरी आमा र बच्चाको स्वास्थ्य उपचारको समेत व्यवस्था मिलाएको छ । छोरीलाई ५ हजार, उनीहरुको स्वास्थ उपचार सहितको सेवाले नगरपालिकाले अगाडी सारेको कार्यक्रम नागरिकमुखी रहेको बताइएको छ । नगरपालिकाको केहीदिन अगाडी बसेको कार्यपालिका बैठकको निर्णय अनुसार चालु आर्थिक बर्षमा जन्मेका छोरीहरुलाई बैंक खाता खोलेर रकम दिने निर्णय गरेको थियो । जन्मदर्ताको आधारमा बैंकमा खाता खोल्ने र १८ बर्ष उमेर पुगेपछि मात्रै यो रकम उनै छोरीले प्रयोग गर्न पाउनेगरी बैंक सगँ सम्झौता गरिएको नगरपालिकाले जनाएको छ ।

नगरकी ‘छोरी’ : छोरा पाउने आशमा ५ सन्तान छोरी जन्माएकी गल्याङ ३ की मिना दर्जीले पुन छोरीको जन्म दिएपछि घरमा पुगेर हौसला प्रदान गर्दै उपप्रमुख हेमा न्यौपाने ।