बर्दिबास ।
जीवनलाई काँडा बनाउने कि फूल, आफैँ निर्धारण गर्ने विषय हो । अभाव, दुःख र कठिनाइसँग जुध्न नसक्दा जीवन काँडा बन्छ भने डटेर सामना गर्ने हो भने जीवन फूल बन्न कसैले रोक्न सक्दैन ।
व्यवसायी विष्णु खड्काको जिन्दगीको अनुभवले यस्तै भन्छ । ठुली दिदीले दिएको ४ हजार रुपैयाँले व्यावसायिक यात्रा तय गरेका खड्कासँग अहिले विशाल व्यवसाय छ, घर छ, गाडी छ, अर्बौँको सम्पत्ति छ । सय जनाभन्दा बढीलाई रोजगारी दिएका छन् । आर्थिक रूपमा कमजोर २९ जनाभन्दा बढी छात्र–छात्राको शिक्षाका लागि वार्षिक करिब २० लाख रुपैयाँ तिरेर अभिभावकत्व लिएका छन् ।
तर, एउटा भुइँमान्छेको जिन्दगी उनले भनेजस्तो कसरी फूल बन्यो ? २०४८ सालमा ४ हजार रुपैयाँबाट सुरु गरेको व्यवसायले खड्का कसरी अर्बपति बने ? जस्ता कौतूहल जो–कोहीलाई हुन सक्छ ।
रामेछापको गर्जाङबाट ‘सुख’को खोजीमा उनको परिवार मकवानपुरको भीमफेदी पुग्दा होस् वा सर्लाहीको घुर्कौलीसम्म आइपुग्दा होस्, जीविकोपार्जनका लागि परिवारले गरेको संघर्ष ‘सुख’का लागि कहिल्यै पर्याप्त बन्न नै सकेन ।
उद्देश्य एउटै भए पनि यतिमात्र फरक बन्यो कि बुबा–आमाले गरेको संघर्षभन्दा खड्काको संघर्षमा नयाँपन थियो ।
‘बुबा–आमाले गरेको संघर्ष जीविकोपार्जनका लागि कहिल्यै सहज बन्न सकेन,’ उनले ती कठिन दिन सम्झिँदै भने, ‘मैले पनि जीवन जिउन संघर्ष गर्नैपर्ने थियो । यतिमात्र फरक भयो कि मेरो संघर्ष बुबाआमाको ट्र्याकभन्दा फरक बन्यो, फरक बनाउनैपर्ने थियो ।’
जुटपानीको नवजीवन विद्याश्रममा एसएलसीसम्मको अध्ययन गरेपछि पारिवारिक आर्थिक संकटले पढ्न नपाएको त्यो अविष्मरणीय नमिठो क्षण होस् वा भारतको नयाँदिल्ली पुगेर ६ महिनासम्म चौकीदारको जागिर खाँदा होस्, यिनै अप्रिय क्षणहरूले खड्कालाई संघर्ष मैदानमा बलियो बनाएर उभ्यायो ।
अनि सुरु भयो व्यावसायिक यात्रा
चौकीदारी गरेर भारतबाट फर्किएपछि खड्काले ठुली दिदीसँग जम्मा ४ हजार रुपैयाँ ऋण लिए । त्यतिबेला दिदीको विवाह भइसकेको थियो ।
सुरुमा त्यो ४ हजारले खड्काले परालको व्यापार गरे । गाउँभरिका खेतमा गएर पराल किन्नु अनि अन्य गाउँमा लगेर बेच्नु, सिजनमा खड्काको दिनचर्या नै यही बन्यो ।
यो व्यवसायले उनलाई अलिअलि फाइदा दिन थाल्यो । कमाइ राम्रै भयो । दिदीसँग लिएको ४ हजार रुपैयाँ खड्काले छोटो समयमै फिर्ता मात्र गरेनन्, घर खर्च गरेर पैसाको जोहो पनि गर्न थाले । झन्डै ३ वर्ष यही व्यवसाय गरेपछि खड्काले व्यवसायलाई परिमार्जन गर्ने सोच बनाए ।
त्यतिबेलासम्म हरिवनकै सुकेपोखरी क्याम्पसबाट खड्काले आइए सकिसकेका थिए । पराल व्यवसायबाट सुरु भएको उनको यात्रा मोडियो– दाउरातर्फ ।
‘त्यतिबेला हरिवनमा नै चिनी मिल थियो । मिललाई दाउराको समस्या भइरहेको मैले पहिचान गरेँ । अनि त्यही अभावलाई मैले व्यवसाय बनाएँ,’ खड्काले भने ।
खड्काले यसका लागि गाउँभरका आँपका बगैँचा ठेक्का लिए, अनि सुकेका रूखहरू काटेर चिनी मिललाई दाउरा बेच्न थाले ।
यो व्यवसायबाट परालबाट भन्दा बढी फाइदा हुन थाल्यो । व्यवसाय गरेको १ वर्षमै खड्काले ५ लाख रुपैयाँभन्दा बढी जम्मा गरे ।
पराल र दाउरा बेचेर जोहो गरेको पैसाले २०५० सालमा खड्काले फलाम बेच्ने प्रभात हार्डवेयर खोले । यो झन् सोचेभन्दा राम्रो चल्न थाल्यो । व्यापारवाट आम्दानी भएको पैसाले अब खड्काले थप शाखा विस्तार गर्न थाले ।
हरिवनमा खोलेको फलाम पसल लालबन्दी र चपुरमा पनि विस्तार गरे । आम्दानी बढ्दै गयो । घरको साइँलो छोरा भए पनि पारिवारिक अभिभारा खड्काले नै सम्हाल्न थाले । २ दिदीबहिनीको विवाह गरे, माइलो दाइलाई अधिवक्ता पढाए, कान्छो भाइलाई आफूसँगै व्यवसायमा सहभागी गराए ।
फेरि सडकमा…
राम्रो र सहज हुँदै गएको खड्काको जीवनमा दिनेश अधिकारीले रचना गरेको गीत ‘सोचेजस्तो हुन्न जीवन’ भनेझैँ एकाएक निराशा छायो । व्यवसायमा एकपछि अर्को सफलता हासिल गर्दै गएका खड्काको बढी पैसा कमाउने महत्वाकांक्षाले सपना मात्र चकनाचुर बनाएन, उनी पुनः २०४८ सालअघिकै अवस्थामा आइपुगे । अझ भनौँ सडकमा नै आइपुगे ।
हार्डवेयरबाट राम्रो आम्दानी हुन थालेपछि खड्काले खोलेको प्रभात इटाभट्टा उद्योग नै उनका लागि नयाँ सिकाइ बन्यो ।
‘त्यो समयमा मैले झन्डै ३० लाख रुपैयाँ गुमाएँ, जुन २०४८ सालदेखि गरेको कडा मिहिनेतको फल थियो,’ उनले भने, ‘तर म हतोत्साहित भइनँ । मिटरब्याजमा पैसा लिएर भए पनि साहुलाई ऋण तिरेको त्यो क्षण सम्झँदा अहिले पनि मलाई ऊर्जा आउँछ ।’
हार्डवेयरमा सामान दिने साहुहरूले सामान दिन बन्द गरे, गाउँमा विश्वसनीयता गुम्दै गयो, मानिसहरूले अनेक तरहले खड्कामाथि प्रश्न उठाउन थाले ।
तर, खड्काको तंग्रिने र उभिने प्रयास जारी नै थियो । ‘तँ चिता, म पुर्याउँछु’ भनेजस्तै खड्काको सम्पर्क फलाम बेच्ने नयाँ साहुसँग भयो । उनीसगँको सम्पर्क उनका लागि उठेर उभिनेमात्र होइन, पुरानो विरासत फर्काउने अवसर पनि बन्यो । विश्वास बढ्दै गयो । बैंकले पनि पत्याउन थाले । २०५८ सालमा खड्काले सोही फलाम बेच्ने पसल बर्दिबासमा पनि खोले ।
…अनि बर्दिबासले उठायो
२०५८ सालमा बर्दिबासमा खोलेको हार्डवेयर जीवन परिवर्तनको आधार मात्र बनेन, अहिले उनको परिचय व्यापारीभन्दा ‘समाजसेवी’ बलियो बनेको छ ।
उद्योग वाणिज्य संघ बर्दिबासका अध्यक्षसमेत रहेका खड्काको परिचय फेर्नुमा उनको व्यापारमात्र कारण होइन, उनको नेतृत्वदायी क्षमताको भूमिका पनि उत्तिकै महत्वपूर्ण छ ।
रोटरी क्लब अफ बर्दिबासको अध्यक्ष भएर जिम्मेवारी लिँदा होस् वा उद्योग वाणिज्य संघको नेतृत्व सम्हालिरहँदा होस्, सबैका लागि प्रशंसायोग्य मात्र होइन, प्रेरणादायी बनेको छ ।
२०५८ सालमा बर्दिबासमा व्यापार सुरु गरेपछि खड्कासँग ‘राम्रै ठाउँ’मा जग्गाजमिन छ, चर्चित विनायक होटल छ, अनि सिन्धुलीमा अर्को हार्डवेयर पनि छ ।
बाबु–आमाको नामबाट खोलिएको पदम–शमशेर स्मृति प्रतिष्ठानले बर्सेनि आर्थिक रूपमा कमजोर जेहेन्दार छात्रछात्राको अभिभावकत्व लिएको छ, जहाँ खड्काले उनीहरूको पढाइमा मात्र वार्षिक २० लाख रुपैयाँभन्दा बढी खर्च गर्छन् ।
कोरोना महामारीमा आइसोलेसनमा रहेका कोरोना संक्रमितहरूलाई निःशुल्क खानेकुरा खुवाउनेदेखि बेसहाराहरूको सहारा बनेका खड्काले ‘व्यापार मुनाफाका लागि मात्र होइन, समाजसेवा पनि हो’ भन्ने सन्देश प्रवाह गरेका छन् ।
‘भुइँमान्छेको पीडा कस्तो हुन्छ भन्ने म आफैँ भुक्तभोगी भएकाले थोरै भए पनि त्यस्ता व्यक्तिको पीडामा मह्लम बन्न मन लाग्छ,’ खड्काले भने, ‘ममा त्यो हुटहुटी छ, त्यसैले सकेको गरिराख्न पाऊँ भन्ने नै लाग्छ ।’
प्रतिक्रिया