अब ‘लकइन’मा रहेको सेयर खुल्नुभन्दा ३० दिनअघि नै सूचना प्रकाशित गर्नुपर्ने

अब ‘लकइन’मा रहेको सेयर खुल्नुभन्दा ३० दिनअघि नै सूचना प्रकाशित गर्नुपर्ने


काठमाडौं ।

सूचीकृत कम्पनीले ‘लकइन’मा रहेको सेयर त्यो खुल्नुभन्दा ३० दिनअघि नै लगानीकर्ता र सरोकारवालाई सूचना जारी गरेर जानकारी गराउनुपर्ने भएको छ ।

नेपाल धितोपत्र बोर्डले सूचीकृत कम्पनीहरुलाई ‘लकइन’ रहेको सेयरको ‘लकइन’ खुल्नुभन्दा ३० दिनअघि सूचना जारी गरेर सबैलाई जानकारी गराउन निर्देशन दिएको छ ।

गत शुक्रबार बसेको धितोपत्र बोर्ड सञ्चालक समिति बैठकले उक्त निर्देशन जारी गर्ने निर्णय गरेको र कम्पनीहरुलाई निर्देशन जारी गर्न बाँकी रहेको बोर्ड स्रोतले बतायो । सूचीकृत कम्पनीहरुमा वास्तविक क्षेत्र र हाइड्रोपावर कम्नीले सार्वसाधारणलाई सेयर जारी गरेको निश्चित समयपछि मात्रै संस्थापक लगानीकर्ताको सेयरको ‘लकइन’ अवधि सकिएर साधारणसरह कारोबार गर्न सकिने व्यवस्था छ ।

साथै उद्योग तथा आयोजना प्रभावित क्षेत्रका स्थानीय लगायतलाई जारी गरेको सेयर पनि निश्चित समयसम्म ‘लकइन’ हुन्छ । उक्त ‘लकइन’ सकिएपछि दोस्रो बजारमा एकैपटक धेरै सेयर सप्लाई आउँदा कम्पनीको सेयर मूल्यमा ठूलो उताचढाव देखिने गरेको छ ।

सूचीकृत कम्पनीको लकइन अवधि सकिएको जानकारी नहुँदा एकैपटक कम्पनीको सेयरमा ठूलो सप्लाई आउँदा आम लगानीकर्तालाई जानकारी नहुने र सेयर मूल्यमा समेत प्रभाव पर्ने देखिएको भन्दै ‘लकइन खुल्नु अगाडि नै सूचना प्रकाशित गर्नुपर्ने निर्णय भएको बोर्ड स्रोतले जनाएको छ ।

‘लकइन खुल्नु कम्तीमा ३० दिन अगाडि लगानीकर्ता र सबै सरोकारवालाको लागि लकइनमा रहेको जुनसुकै वर्गको सेयर यो मितिबाट लकइन सकिंदैछ भनेर सूचना प्रकाशित गर्नुपर्ने निर्णय भएको छ,’ बोर्ड स्रोतले भन्यो, ‘उक्त सूचना धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, सीडीएस एण्ड क्लियरिङ लिमिटेडलाई जानकारी गराउनुपर्नेछ । त्यो सूचना कम्पनीले आफ्नो वेबसाइटमा पनि राख्नुपर्नेछ ।’

उक्त सूचना नेप्से र सीडीएस एण्ड क्लियरिङले पनि आफ्नो वेबसाइटमा राख्नुपर्ने व्यवस्था बोर्डले गर्न लागेको छ । बोर्डले सम्बन्धित कम्पनीले नै उक्त सूचना प्रकाशित गर्न निर्देशन दिने निर्णय गरेको छ ।