भरतपुर अस्पतालमा थपियो ५ वटा सुविधासम्पन्न बर्थिङ युनिट

भरतपुर अस्पतालमा थपियो ५ वटा सुविधासम्पन्न बर्थिङ युनिट


चितवन ।

भरतपुर अस्पतालमा बच्चा जन्माउनका लागि थप पाँच वटा ‘बर्थिङ स्वीट्स रुम’ थपिएका छन् । प्राकृतिकरूपमा बच्चालाई जन्मदिने सुविधासम्पन्न सो बर्थिङ युनिट थप गरिएको हो ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा श्रीराम तिवारीका अनुसार एक करोड रुपैयाँको लागतमा निर्माण गरिएको नयाँ युनिट प्रसूति भवनको नजिकै थप गरिएको हो ।

प्रसूतिका लागि अस्पताल आएका तर कुनै खालको स्वास्थ्य जटिलता नभएका गर्भवती महिलालाई उक्त स्वीट्स रुममा राखिने छ । स्वीट्स रुममा पति वा नजिकको अभिभावक पनि सँगै रहने व्यवस्था गरिएको छ ।

प्रसूतिको समयमा अधिक पीडा हुने र उक्त समयमा अभिभावक साथमा रहँदा पीडा कम हुने विकसित मुलुकको अभ्यासलाई यहाँ प्रयोगमा ल्याउन लागिएको डा तिवारीले बताए । अभिभावकसँगै प्रत्येक स्वीट्सरुममा एक जना नर्स रहने व्यवस्था गरिएको छ ।

स्वीट रुममा प्रसूति हुँदा आवश्यक पर्ने सम्पूर्ण सामान पहिले नै तयारी अवस्थामा रहने छन् । सुविधासम्पन्न र आधुनिक भएका कारण स्वास्थ्यका दृष्टिकोणले पनि यो अति महत्वपूर्ण हुन्छ । आमालाई पनि सहज हुने गरी सुविधा दिइएको छ ।

विगतमा बच्चाको मुटुको चाल, आमाको स्वास्थ्यको अवस्था हेरेर तुरुन्त शल्यक्रिया गर्नुपर्ने अथवा भ्याकुम लगाउनुपर्ने अवस्था छुट्याएर सम्बन्धित ठाउँमा लैजाने गरिएको डा. तिवारीले बताए ।

अस्पतालका स्त्री तथा प्रसूति विभागका प्रमुख प्रा डा सुनिलमणि पोखरेलका अनुसार गत वर्ष अस्पतालमा ११ हजार आठ सय ९८ जना शिशु जन्मिएका थिए । तीमध्ये ४० प्रतिशत हाराहारी शल्यक्रियाबाट बच्चा निकालिएको हो । दैनिक ३० देखि ४० गर्भवती प्रसूति सेवाका लागि भरतपुर अस्पताल आउने गर्दछन् । उनीहरु चितवनसहित छिमेकी १० भन्दा बढी जिल्लाबाट आउने गर्दछन् ।

अस्पतालमा पोखरेलको नेतृत्वमा १३ विशेषज्ञ चिकित्सक र ३० तालिम प्राप्त नर्स कार्यरत छन् । उनीहरु २५ वर्षसम्मको अनुभवी छन् । नयाँ बर्थिङ युनिटका लागि आठ नर्सलाई तालिम दिईएको छ । तीमध्ये दुईजना मिड वाईफरीमा स्नातक गरेका छन् भने छ जना ‘स्किल बर्थिङ एटेन्डेन्स’ को तालिम लिएका नर्स छन् ।

अस्पतालमा नवजात शिशुका लागि १६ शय्याको शिशु सघन उपचार कक्ष रहेका छन् । चार शय्याको कङ्गारु कियर रहेको छ । प्रसूतिका लागि दुई वटा शल्यक्रिया कक्ष छन् ।

अस्पतालका ३९ वटा क्याबिन अधिकांशमा प्रसूति गराएकाबाटै भरिने गरेको छ । पोखरेलले बर्थिङ युनिट थप भएसँगै प्राकृतिक रुपमा घरकै वातावरणमा बच्चा जन्माउन सकिने बताए । राजधानी बाहिर सबैभन्दा बढी प्रसूति सेवा दिने अस्पतालमा यो पर्दछ ।