१५ बर्षमा पनि बनेन बाटो, ९ करोड खर्चिए पनि सडक उस्तै

१५ बर्षमा पनि बनेन बाटो, ९ करोड खर्चिए पनि सडक उस्तै


काठमाडौं ।

पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङबाट इच्छाकामना मन्दिरसम्म सडकको नयाँ ट्रयाक खन्ने काम विसं २०६५ मै भएको हाे। तत्कालीन दारेचोक गाउँ विकास समितिबाट ५० हजार रुपैयाँ बजेट विनियोजन गरी सडकको नयाँ ट्रयाक फिस्लिङबाट खन्ने काम सुरु गरिएको थियो।

५० हजार बजेटबाट ट्रयाक खन्न सम्भव थिएन। स्थानीयले चन्दा उठाएर काम पुरा गरे। ट्रयाक खन्ने काममा मनकामना दर्शन प्रालिले पनि साथ दियो। स्थानीय लोकबहादुर गुरुङका अनुसार मनकामना दर्शन प्रालिले सडक खन्ने एउटा मेसिन उपलब्ध गराएको थियो। उक्त ट्रयाक खोल्न ४६ लाख रुपैयाँ खर्च भएको थियो।

१५ वर्षअघि ट्रयाक खनेर गाडी गुड्न थालेको यस ग्रामीण सडकमा यात्रा भने सधैं जोखिपूर्ण छ। हिउँदमा केही सहज भए पनि भरपर्दो नाली, पर्खाल नहँदा वर्षायाममा निकै जोखिम रहेको र नियमित सवारीसाधन जान सक्ने अवस्था नहुने उनको भनाइ छ।

गुरुङले भने, ‘सडक निर्माण गरेको १५ वर्ष भयो। स्तरोन्नति नहुँदा जोखिम यात्रा गर्न बाध्य छौं। हिउँदमा केही सहज भए पनि बर्खामा भने नियमित सवारी नै चल्न सक्ने अवस्था रहँदैन।’

उनका अनुसार यस भेगमा वर्षायाममा उत्पादन हुने तरकारी बजारसम्म लैजान समस्या छ। इच्छाकामनाको तोक्दाङ, माझगाउँ लगायतका गाउँ सुन्तला र तरकारी खेतीका लागि उर्वर क्षेत्र मानिन्छ। यस भेगका स्थानीयको मुख्य अम्दानीको स्रोत कृपि उपज हो। गाउँपालिकाले माझगाउँलाई सुन्तलाको पकेट क्षेत्र घोषणा गरेको छ। सडक सहज नहुँदा भने यहाँका किसान मर्कामा छन्।

९ करोड खर्चिए पनि सडक उस्तै

उक्त सडकखण्डअन्तर्गत फिस्लिङबाट तोक्दाङसम्म नौ किलोमिटर विसं २०७४ मा ९ करोड रुपैयाँ खर्चिएर स्तरोन्नति गरिएको थियो। तर‚ एक वर्ष पनि टिक्न सकेन। वर्ष दिन नपुग्दै सडक पुरानै अवस्थामा आएको स्थानीयको भनाइ छ। ग्रामीण सडक सञ्जाल सुधार आयोजनाअन्तर्गत उक्त खण्ड स्तरोन्नतिको काम भएको थियो। ग्राभेल, पर्खाल, नाला निर्माण लगायतका काम पनि अलपत्र छन्।

धार्मिक पर्यटकीयस्थल इच्छाकामना मन्दिर जाने यस मुख्य ग्रामीण सडकको स्तरोन्नतिका लागि प्राथमिकतामा राखेको गाउँपालिकाले जनाएको छ। गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले यस सडक स्तरोन्नतिका लागि पहल गरिरहेको जानकारी दिए। तत्काल गाउँपालिकाको बजेटबाट एक किलोमिटर सडक कालोपत्र गर्ने काम भइरहेको र बढी जोखिम रहेको स्थानमा ढलान गरिने उनले बताए।

अध्यक्ष गुरुङले भने, ‘कालोपत्र गर्न केन्द्र र प्रदेशमा पहल गरेका छौं। तत्काल गाउँपालिकाको बजेटले एक किलोमिटर कालोपत्र गर्ने काम भइरहेको छ। अप्ठ्यारा खण्डमा ढलान गर्ने छौं।’

फिस्लिङ–शक्तिखोर ग्रामीण सडक आयोजनाभित्र पर्ने यस सडक कालोपत्रका लागि छुट्याएको बजेटसमेत आर्थिक अभाव रहेको जनाउँदै अर्थ मन्त्रालयले रोकेको उनले बताए।