ईःको आन्दोलनमा स्थानीयको विरोध, च्याते पम्प्लेट

ईःको आन्दोलनमा स्थानीयको विरोध, च्याते पम्प्लेट


काठमाडौं ।

ललितपुर महानगरपालिकामा मंगलबजारदेखि उभिएका अभियन्ता ईःको स्थानीयले विरोध गरेका छन् ।

काठमाडौं महानगरपालिकाले फुटपाथ व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने मागसहित १९९ घण्टा उभिएर प्रदर्शन गरेका अभियन्ता ईः ललितपुरमा पनि मंगलबार १०८ मिनेट उभिएर विरोध प्रदर्शन गर्न पुगेका थिए ।

मंगलबार दिउँसो ३ बजे अभियन्ता ई:ले ललितपुर महानगरले फुटपाथ व्यवसाय गर्न नदिने निर्णय गरेको भन्दै प्रदर्शन गर्न महानगर अगाडि पुगेका थिए।

उनले प्रदर्शन गर्न लागेपछि स्थानीयहरूले पनि फुटपाथमा व्यवसाय गर्न नपाउने भन्दै प्रदर्शन गर्न पुगेका हुन्।

त्यसक्रममा प्रदर्शन गरिरहेका स्थानीयले ई: लगायत प्रदर्शनकारीले बोकेको पम्प्‍लेट च्यातेका छन्। आक्रोशित भएका स्थानीयले ई:माथि जाइलागेपछि प्रहरीले उनलाई प्रहरी प्रभाग पुल्चोकमा लगेको छ। अहिले पुल्चोकमा सुरक्षाकर्मीहरू खटिएका छन्।

ललितपुर महानगरपालिकाले गत आइतबारदेखि मंगलबजार-लगनखेल क्षेत्र ‘फुटपाथ पसल निषेधित क्षेत्र’ तोकेको थियो। फुटपाथ व्यवसायीहरू बढेको भन्दै महानगरले उक्त क्षेत्रमा निषेधित क्षेत्र तोकेको हो।