त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका थप २ जना अधिकृत पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका थप २ जना अधिकृत पक्राउ


काठमाडौँ ।

फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहसँग ‘मिलेमतो’ गरेको आरोपमा प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत थप दुईजना अधिकृतलाई पक्राउ गरेको छ ।

नेपाल वायुसेवा निगममा कार्यरत अधिकृतहरू अरविन्द यादव र विश्वनाथ कोइरालालाई पक्राउ गरिएको हो ।

यसअघि वायुसेवा निगममा कार्यरत अर्का अधिकृत होमनाथ पोखरेललाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

भिजिट भिसामा विदेश जानेहरूसँग फेला परेका शङ्कास्पद कागजात अनुसन्धान गर्दै जाँदा प्रहरी फर्जी कागजात बनाउने गिरोहको कारखानासम्म पुगेको थियो ।

वायुसेवा निगमका अधिकृतहरूले गिरोहसँग मिलेर आर्थिक लाभ लिने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले सङ्कलन गरेर पठाएको १ हजार ३२ थान भिसा सहितका कागजातबाट उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान थालेको थियो ।

यसअघि प्रहरीले चारजना कन्सल्टेन्सी सञ्चालकसहित १३ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।