आज रंगीचंगी उल्का वर्षा हुने, नेपालबाट पनि हेर्न सकिने

आज रंगीचंगी उल्का वर्षा हुने, नेपालबाट पनि हेर्न सकिने


काठमाडौं ।

बिहीबार राति नेपालबाट पनि उल्का वर्षाको रमाइलो दृष्य देख्न पाइने भएको छ ।

यदि आकाश खुलेको रहेछ भने नेपालको जुनसुकै ठाउँबाट पनि खाली आँखाले नै उल्का वर्षा देख्न सकिन्छ ।

खगोलविदहरुले यो उल्का वर्षालाई ‘जेमिनिड्स’ नाम दिएका छन् ।

आकाशमा जेमिनाई अर्थात् मिथुन राशितिरबाट आएको देखिने भएकाले यो उल्का वर्षालाई वैज्ञानिकहरुले ‘जेमिनिड्स’ नाम दिएका हुन् ।

अमेरिकाको अन्तरिक्ष अन्वेषण निकाय नासाले जेमिनिड्सलाई यस वर्षकै ‘उत्कृष्ट’ उल्का वर्षा भनेको छ ।

यो उल्का वर्षा विभिन्न रंगमा देखिने छ । स्थानीय समयानुसार बिहीवार मध्यरातपछि नेपालको जुनसुकै ठाउँबाट बिहान ३-४ बजेसम्म उल्का वर्षालाई खाली आँखाले नै हेर्न सकिन्छ ।

वैज्ञानिकहरुका अनुसार जेमिनिड्स उल्का वर्षा हरेक वर्ष डिसेम्बर मध्यतिर हुन्छ । यस वर्ष यो २० डिसेम्बरसम्म हुनेछ । तर उत्कर्षमा पुग्ने बिहीबार र शुक्रबार हो ।

नेपालसहित संसारका सबै भागबाट प्रत्येक घण्टा १०० देखि १२० वटासम्म जेमिनिड्स उल्का वर्षा देख्न सकिने बताइएको छ ।