भीमदत्तमा महेन्द्रको सालिक राख्ने विषयमा विवाद, स्थानीय प्रशासनले लगायो एक साता लामाे निषेधाज्ञा

भीमदत्तमा महेन्द्रको सालिक राख्ने विषयमा विवाद, स्थानीय प्रशासनले लगायो एक साता लामाे निषेधाज्ञा


धनगढी ।

राजा महेन्द्रको सालिक राख्ने विषयमा दलहरूबीच विवाद बढ्दै गएपछि स्थानीय प्रशासनले महेन्द्रनगर बजारका केही स्थानमा निषेधाज्ञा जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बिहीबारदेखि ७ दिनसम्म लागू हुनेगरी भीमदत्त नगरपालिका-४ को संविधान चोकदेखि पूर्वमा दशरथचन्दको सालिकसम्मको मुख्य सडक र पश्चिममा मदन भण्डारीको सालिकसम्मको मुख्य सडकखण्डमा निषेधाज्ञा जारी गरेका हुन् ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९३क० बमोजिम जारी आदेशअनुसार यो क्षेत्रमा ७ दिनसम्म ५ जना भन्दा बढी मानिस जम्मा भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न पाइने छैन ।

प्रजिअ अधिकारीले संविधान चोक आसपासको क्षेत्रमा सालिक स्थापना गर्न दिने नदिने सम्बन्धमा विभिन्न राजनैतिक दलहरु बीच मतभिन्नता भै आएको सन्दर्भमाः सार्वजनिक शान्ति सुव्यवस्थालाई कायम राख्न तथा अत्यावश्यक सेवालाई निर्वाध सञ्चालन गर्न निषेधाज्ञा लगाउनुपरेको बताएका छन् ।

संविधान चोकमा आज बिहीबार राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनको उपस्थितिमा महेन्द्रको सालिक स्थापना गर्ने तयारी थियो ।  तर, कार्यक्रम सुरु हुनुअघि नै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।