ग्वान्दोङ प्रान्तको संस्कृति विभागको चिनिया टोली लुम्बिनीमा

ग्वान्दोङ प्रान्तको संस्कृति विभागको चिनिया टोली लुम्बिनीमा


लुम्बिनी ।

चीनको ग्वान्दोङ प्रान्तका संस्कृति विभागका अध्यक्षवाङ रुइजिङ नेतृत्वमा एक टोली मैत्रीपूर्ण भ्रमणका लागि लुम्बिनी पुगेको छ ।

बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण सहित नेपाल र चीन बिचको संस्कृति आदान–प्रदान र लुम्बिनीमा विपन्न समुदायलाई खाद्यान्न वितरणका लागि एघार सदस्यीय टोली भैरहवा विमानस्थलहुंदै लुम्बिनी पुगेको हो । चिनिया टोलीलाई नेपाल–चीन मैत्री समाज लुम्बिनीले विमानस्थलमा स्वागत गरेको छ ।

सो अवसरमा ग्वान्दोङ प्रान्तका संस्कृति विभागका अध्यक्ष वाङ रुइजिङले नेपाल र चीन बीच सदियौंदेखि सांस्कृतिक, आर्थिक र सामाजिक सम्बन्ध रहेको उल्लेख गर्दै दुई देश बिचको संस्कृति आदान–प्रदान र बुद्ध जन्मस्थल लुम्बिनीको प्रवद्र्धनकालागि मैत्रीपूर्ण भ्रमणमा आएको बताए ।

ग्वान्दोङ चीनको उच्च जनघनत्व भएको प्रान्त भएकाले आफ्नो टोलीको भ्रमणले त्यहांका बौद्धमार्गी पर्यटकलाई लुम्बिनी भ्रमणमा प्रेरणा मिल्ने रुइजिङले बताए ।

चिनिया टोलीलाई स्वागतगर्दै नेपाल–चीन मैत्री समाज लुम्बिनीका अध्यक्ष नारायण प्रसाद सापकोटाले गौतमबुद्ध विमानस्थलमा चिनिया शहरबाट सिधा उडानको वातावरण मिलाइदिन आग्रह गरे ।

उहाँले नेपाललाई चीन सरकारको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) परियोजनामा छिटो सहभागी गराई केरुङ–काठमाडौं–लुम्बिनी रेल मार्ग निर्माणमा सहयोग गर्न आग्रह गरे । केरुङ–काठमाडौं–लुम्बिनी रेल मार्ग बनेको खण्डमा करोडौंको संख्यामा रहेको चिनिया बौद्धमार्गीलाई लुम्बिनी आउन सहजहुने अध्यक्ष सापकोटाले बताए ।

नेपाल–चीन मैत्री समाजका महासचिव मनिषकुमार जोशीले ग्वान्दोङ प्रान्तका व्यवसायीलाई लुम्बिनी प्रदेशमा कृषि, पर्यटन, सूचना प्रविधि लगायतका क्षेत्रमा लगानीका लागि वातावरण बनाइदिन चिनिया टोलीसंग आग्रह गरे ।