बालेन हिँडेपछि प्रधानमन्त्रीले भने-‘पहिला बोलेर जवाफ नसुनी हिँड्नेसँग मलाई इरिटेसन हुन्छ’

बालेन हिँडेपछि प्रधानमन्त्रीले भने-‘पहिला बोलेर जवाफ नसुनी हिँड्नेसँग मलाई इरिटेसन हुन्छ’


काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँ उपत्यकामा देखिएका फोहोर व्यवस्थापनका लागि सरकारले गम्भीर पहल गरिरहेको बताएका छन् ।

सोमबार ललितपुर महानगरपालिकाको १०५ औैं स्थापना दिवसको स्थापना दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री दाहालले फोहोरको दिर्घकालिन समाधानका लागि पहल गरिरहेको बताएका हुन् ।

‘काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन र खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि मेरै नेतृत्वमा पहल भइरहेको छ ।’, उनले भने, ‘यसका लागि तीनै तहको सरकारबिच समन्वय र सहकार्य हुन आवश्यक छ, ।

उनले विकास निर्माण, सांस्कृतिक सम्पदाको संरक्षण एवं संवद्ध्रनका लागि स्थानीय तहले खेलेको भूमिका महत्वपुर्ण रहेको बताउँदै प्रशंसा गरे ।

प्रधानमन्त्री प्रचण्डले स्थानीय तहहरुको विकास निर्माणका सहयोग गर्न सरकार तयार रहेको बताए ।

यसअघि कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द शाहले उपत्यकाको फोहोर व्यवस्थापनको सवालमा संघ सरकारलेसहजीकरण गरिदिनुपर्ने भन्दै प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका थिए ।

यस्तै मेयर शाहले आफ्ना कुरा राख्ने तर अरूका कुरा नसुन्ने गरेको भन्दै कार्यक्रमकै मञ्चबाट प्रधानमन्त्री दाहालले यस्ता कुराले आफूलाई खिन्न बनाउने बताए।

‘अघि बालेन्द्रजी गइहाल्नुभयो, मलाई फेरि पहिला बोलेर हिँड्नेसँग पनि अलिअलि इरिटेसन हुन्छ,’ प्रधानमन्त्री दाहालले भने, ‘आफूले भन्ने कुरा जे(जे भनिहाल्ने अनि त्यसको जवाफ सुन्नका लागि बस्दै नबस्ने गर्न हुँदैन, प्रमुख अतिथिले बोल्ने बेलासम्म बस्नुपर्छ।’