धर्मको त्रास देखाएर वन अतिक्रमण : मन्दिरको आडमा व्यवसायदेखि मानव बस्तीसम्म !

धर्मको त्रास देखाएर वन अतिक्रमण : मन्दिरको आडमा व्यवसायदेखि मानव बस्तीसम्म !

जंगल अतिक्रमण गरी जताततै मन्दिर निर्माण, आफ्नै नाममा नामकरण


महोत्तरी ।

हिन्दुहरूका लागि मन्दिर आस्था र विश्वासको धरोहर मात्र होइन, सत्कर्म र सत्मार्गमा डोर्‍याउने एउटा विश्वासिलो कानुन पनि हो । त्यही मन्दिरलाई भगवानका नाममा स्वार्थ पूर्तिका लागि मानिसहरूले हतियार बनाउँछन् भन्दा धेरैलाई अचम्म लाग्न सक्छ ।
र, महोत्तरीको चुरे काछका जंगलहरूमा मन्दिर देखाएर स्वार्थ पूर्ति गर्ने गरेका कैयौँ उदाहरण छन् । बिघौँबिघा जंगल अतिक्रमण गरी विभिन्न भगवानका नाममा बनाइएका मन्दिरका संरचनाहरूले सरोकारवालाहरूलाई गिज्याएको मात्र छैन, जंगलभित्रै मानव बस्ती बसाउने बहानासमेत मिलेको छ ।

पूर्व–पश्चिम राजमार्गस्थित बर्दिवासको भब्सी पुल पार गरेपछि सागरनाथ वन परियोजनाको जंगलभित्र दर्जनभन्दा बढी विभिन्न मन्दिर छन् । मन्दिरसँगै चलाइएका होटल व्यवसाय, सवारीसाधनका वर्कसप तथा उनीहरूको बसोबासले जंगल अतिक्रमण गर्न मन्दिरको सहारा लिएको सहजै अनुमान लगाउन सकिन्छ ।

‘यी मन्दिरहरू वास्तवमै जंगल अतिक्रमण गर्ने बहाना मात्र हो,’ नेकपा एमालेका नेता गुन्ज खड्काले भने, ‘मन्दिरका नाममा देखिएका विकृतिहरूलाई केलाउने बेला आएको छ ।’

भब्सी पुल सुरु भएपछि बायाँपट्टि एउटा मन्दिर छ । सोही मन्दिरको झन्डै ५० मिटरको फरकमा ३ वटा मन्दिर देखिन्छन् । भब्सी पुल र सशस्त्र प्रहरीको चेक पोस्टको बीचमा रहेका यी मन्दिर वरपर एउटा वर्कसप छ भने विभिन्न घुम्ती पसलहरू देखिन्छन् ।

यही क्षेत्रमा केही मानिस बसोबास पनि गरेका छन् । तर, अचम्मलाग्दो त के छ भने सागरनाथ वन परियोजनाको हात्तीलेट कार्यालय पनि यही ठाउँमै छ । जंगलको संरक्षण गर्ने जिम्मेवारी पाएका वन रक्षकहरू आफ्नै वरपर भएका यस्ता विषयबारे बेखबर देखिन्छन् ।

२० वर्षदेखि सागरनाथ वन परियोजनामै काम गर्दै आएका मनोज श्रेष्ठ राजनीतिक दाउपेचकै कारण यस्तो भएको बताउँछन् । ‘हामीले विश्वकर्माको नाममा बनाउँदै गरेको मन्दिर भत्काएर जलाएका थियौँ,’ उनले भने, ‘हाम्रो प्रयास बेकार बन्यो । बरु त्यहाँ पक्की मन्दिर नै बन्यो ।’

राजनीतिक दलहरूको हस्तक्षेपका कारण पनि मन्दिरका नाममा जंगल अतिक्रमण भएको परियोजनाका कर्मचारीहरूको भनाइ छ ।

नदेखिने गरी जंगलको भित्र अझै पनि मन्दिर र मानिसहरूले घर बनाउने गरेको पाइएको छ । गौशाला कुश्माडी शाखामा काम गर्ने मानबहादुर योञ्जन केही समयअघि व्यक्तिको घर र एउटा मन्दिर बनाउँदा–बनाउँदै रोकेको बताउँछन् । कतिपय ठाउँमा त मन्दिरको नाम नै व्यक्तिका नाममा राखेको पाइएको छ ।

पूर्व–पश्चिम राजमार्गको भब्सी पुलदेखि गौशाला सम्सी सडकखण्डसम्म आइपुग्दा मन्दिरलाई माफियाहरूले कसरी हतियार बनाएका छन् भन्ने उदाहरण प्रशस्त देखिन्छन् ।

मन्दिर स्वरूपमा बनाइएका संरचनाहरू मन्दिर जस्ता देखिए पनि कुनचाहिँ भगवानको हो भन्ने थाहा पाउन सकिँदैन । गौशाला–सम्सी सडकखण्डका आधा दर्जन मन्दिरमध्ये दुइटा मन्दिरको मात्र नामकरण गरिएको छ– एउटा विश्वकर्मा बाबा र अर्को पूर्णेश्वर मन्दिर ।

माफियाहरूले जंगलमा कसरी राजनीति गर्छन् भन्ने विषय पूर्णेश्वर मन्दिर नै काफी छ । स्थानीयका अनुसार पूर्णबहादुर नाम गरेका व्यक्तिले मन्दिर बनाएपछि यो मन्दिरको नाम नै ‘पूर्णेश्वर’ राखिएको हो ।

गौशाला नगरपालिकाका स्थानीय अटो चालक दिनेश महतोका अनुसार पूर्णबहादुर सर्लाही लालबन्दीतिरका हुन् । उनले जंगलभित्रै अन्य विभिन्न मन्दिर बनाएर आफूअनुकूल नामकरण गरेका छन् ।

मधेसका देहातमा अझै पनि धर्मलाई हतियार बनाएर राजनीति गरेको पाइन्छ । बुझ्नेहरूले स्थानीयलाई धर्मसँग जोडेर राजनीतिक भर्‍याङ बनाएका छन् ।

गाउँमा व्यक्तिगत जग्गा हुने र मन्दिर बनाउन सार्वजनिक ठाउँ उपलब्ध नहुँदा जंगलमा नै मन्दिर बनाएर स्थानीयलाई आकर्षित गर्ने गरेको जानकारहरू बताउँछन् ।

गौशालाका राम भुजेल मन्दिरकै नाममा ‘बाबाहरू’ बटुलेर लागुपदार्थ र दुव्र्यसनको अखाडासमेत बनाइएको बताउँछन् ।

गौशाला रामनगर नजिकै ‘वसन्तीमाई’ नामक मन्दिर छ । वन परियोजनाका कर्मचारीहरूले यहाँका बाबालाई पटकपटक बेग्लै बासस्थान नबनाउन आग्रह मात्र गरेनन्, बनाइएका आश्रम पनि भत्काइदिए । तर, भारतबाट आएका आफूलाई बाबा बताउने एक जनाले अहिले जंगल अतिक्रमण गरेर आफ्नो आश्रम बनाएका छन् ।

यहाँ बेलुका भएपछि बर्दिबास र गौशालाका एक दर्जन युवाहरू गाँजा र अन्य लागुपदार्थ सेवन गर्न झुम्मिने गरेको स्थानीय प्रत्यक्षदर्शीहरू बताउँछन् ।

बर्दिबास र गौशालाको सिमाना नजिकै माईस्थानमा एउटा सानो मन्दिर छ । अनि यही मन्दिरको वरपर आधा दर्जन होटलहरू छन् भने कसैले टहरा बनाएर बसोबास नै गर्दै आएका छन् ।

गौशाला लक्ष्मीनिया घर भएकी प्रमिला शर्मा झन्डै १५ वर्षअघि बर्दिबासतिरका एक व्यक्तिसँग १० हजारमा जग्गा किनेर बसेकी हुन् । उनले किनेको भनिएको जग्गा पूर्ण रूपमा जंगल क्षेत्रमा पर्छ ।

उनी बस्ने ठाउँ वरपर फँडानी गरेर अहिले उनले झन्डै १ कठ्ठा आफ्नो कब्जामा बनाएकी छिन् । जंगलभित्रै बाख्रा पनि पालेकी छिन् ।

शर्मा त एक प्रतिनिधि उदाहरण मात्र हुन्, उनी जस्तै बिघौँबिघा जग्गा अतिक्रमण गरेर अन्य व्यक्तिले होटल व्यवसाय सञ्चालन मात्र होइन, बसोबास नै बसाएका छन् । यो सबै मन्दिरकै आडमा बिस्तारै मानव बसोबास बढाएको स्थानीय बताउँछन् ।

प्राचीन मन्दिरहरूलाई समेत ओझेल बनाउने गरी जंगल अतिक्रमण गरी बनाएका मन्दिरहरूले लामो विरासत बोकेका मन्दिरहरूको अस्तित्वसमेत धरापमा परेको छ ।

उस्तै नामकरण गरी निर्माण गरिएका प्राचीन ऐतिहासिक मन्दिरहरू जस्तै टुटेश्वर मन्दिर, पञ्चधुरा मन्दिर जस्ता मन्दिरहरू जंगलभित्र मनलागी बनाइएका मन्दिरहरूले ओझेल पारेका छन् ।

‘अविलम्ब जंगलभित्र पछि बनाइएका मन्दिरहरूको विषयमा स्थानीय सरकारले ध्यान पुर्‍याउनुपर्छ,’ माओवादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खड्काले भने, ‘मन्दिरको नाममा चुरे अतिक्रमण गर्न कसैलाई छुट छैन ।’

महोत्तरीमा सामुदायिक वन, साझेदारी वन र सागरनाथ वन परियोजना गरी ३ प्रकारका वन छन् । सर्लाहीको सिमाना बाकेदेखि यता विशेषगरी जिल्लाको उत्तरवर्ती क्षेत्रमा प्राय : जंगल क्षेत्र छ ।

तर, जंगल क्षेत्रमा मन्दिर देखाएर अतिक्रमण गरेका घटनाहरू प्रशस्तै देखिए पनि वन रक्षकहरूको मौनताले अनेकौँ प्रश्न खडा भएका छन् ।

वन उपभोक्ता महासंघ मधेस प्रदेशका अध्यक्ष सोम शर्मा नियमन नै फितलो भएको दाबी गर्छन् । मन्दिरको नाममा भएको अतिक्रमण हरेक हिसाबले खेदजनक भएको बताउँदै उनले यस विषयमा सरोकारवालाहरूसँग छलफल अगाडि बढाउने बताए ।

यता, स्थानीय सरकार भने अतिक्रमणको विषयमा ध्यानाकर्षण भएको बताउँछ । ‘हामी अतिक्रमणको विषयमा संवेदनशील छौँ,’ बर्दिबास नगरपालिकाका प्रमुख प्रल्हादकुमार क्षेत्रीले भने, ‘पुराना संरचनाहरू हटाउन भने निकै मुस्किल छ ।’

मन्दिरका नाममा भएको अतिक्रमण हटाउँछौँ

सन्तोष झा, वन कार्यालय प्रमुख

जिल्ला वन कार्यालय प्रमुख सन्तोष झाले मन्दिरका नाममा जंगलमा बनेका अवैध संरचना हटाउन आफूहरू तयार रहेको बताएका छन् ।

सागरनाथ वन परियोजना र स्थानीय सरकारले साथ दिए उक्त संरचनाहरू हटाउन आफूहरूलाई कुनै समस्या नरहेको प्रमुख झाको भनाइ छ ।

‘हामीले उक्त क्षेत्र निगरानी गरेका छौँ । त्यहाँ जबरजस्ती अतिक्रमण गरेर व्यवसायसमेत खोलेको देखिन्छ,’ उनले भने, ‘तर सागरनाथ वन परियोजनाले साथ दिनुपर्छ ।’

महोत्तरीमा मन्दिरका नाममा मात्र होइन, जग्गा नै हत्याउने अभियानअन्तर्गत विभिन्न घटना यसअघि भइसकेका छन् । यसैमध्येको चर्चित काण्ड हो– रम्तेलडाँडा काण्ड । भूमाफियाहरूले सामुदायिक जंगल फँडानी गरी २ वर्षअघि रातारात आफ्नो नाममा बनाएको विषयको मुद्दा अझै अदालतमा विचाराधीन छ ।’

संघर्ष गर्छौँ : वन महासंघ मधेस

वन महासंघ मधेस प्रदेशले मन्दिरका नाममा भएका अतिक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघ मधेसका अध्यक्ष सोम शर्माले स्थानीय सरकार र वनको अधीनस्थ नरहेका सम्पूर्ण संरचना अवैध भएको बताए । ‘वनभित्र बनाइएका संरचना पूर्णत : अवैध हुन् भन्ने हाम्रो ठहर हो,’ अध्यक्ष शर्माले भने, ‘आवश्यक परे संघर्षसमेत गर्नेछौँ ।’

पर्यावरणलाई खलल पुर्‍याउने गरी जंगलभित्र भएका संरचना हटाउनुपर्ने उनको तर्क छ ।