स्याङ्जा-पाल्पा जोड्ने ‘सिग्नेचर ब्रिज’ बनाउन २७ करोडमा ठेक्का सम्झौता

स्याङ्जा-पाल्पा जोड्ने ‘सिग्नेचर ब्रिज’ बनाउन २७ करोडमा ठेक्का सम्झौता


स्याङ्जा ।

गण्डकी प्रदेशको स्याङ्जा र लुम्बिनी प्रदेशको पाल्पा जोड्ने कालीगण्डकी नदीमा ‘सिग्नेचर ब्रिज’ बनाउन ठेक्का सम्झौता भएको छ ।

सम्झौता भएसँगै गण्डकी र लुम्बिनी प्रदेशको संगम स्थल (रामनदी धाम) राम्दीस्थित कालीगण्डकी नदीमा पक्की पुल निर्माण थालिएको हो ।

सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गअन्तर्गत राम्दीमा कालीगण्डकी नदीमाथि नयाँ पुल निर्माण थालिएको छ ।

२०२८ सालमा बनेको ‘स्टिल ट्रस’ पुल जीर्ण हुँदै गएपछि नयाँ प्रविधिको ‘सिग्नेचर ब्रिज’ को निर्माण थालिएको पुल सेक्टर पोखराका इन्जिनियर आशिष रिजालले जानकारी दिए ।

अत्याधुनिक प्रविधि प्रयोग गरेर कालीगण्डकी नदीमा आकर्षक एवं कलात्मक पुल निर्माण गर्न लागिएको हो ।

‘पुरानो पुल जीर्ण हुँदै जाँदा ठुला भारवहन क्षमताका सवारीसाधन सञ्चालन हुन पाएका थिएनन्,’ रिजालले भने, ‘१ हप्ताअघिदेखि पुल निर्माण सुरु गरेका छौँ । स्याङ्जातर्फका घरटहरा भत्काएर जग खन्ने काम अगाडि बढेको छ ।’

सडक विभाग पुल महाशाखाले सर्भे सम्पन्न गरी ठेक्का सम्झौता भई काम अगाडि बढेको हो । २०८२ साल असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने गरी हिम सगरमाथा कन्ट्रक्सन प्रालिसँग पुल निर्माणको ठेक्का सम्झौता भएको छ ।

१२० मिटर लामो हुने उक्त पुल पर्यटकीय रूपमा समेत आकर्षक बनाउने तयारी छ । हाल सञ्चालनमा रहेको पुरानो पुल ९३ मिटर लामो छ ।

‘पुल निर्माण सम्पन्न गर्न २७ करोड ७१ लाख रुपैयाँ लागत लाग्नेछ,’ रिजालले भने, ‘पुल फुटपाथसहित ११ मिटर चौडाइको हुनेछ ।’ अब बन्ने नयाँ पुलमा ४० टनसम्मको भारवहन क्षमता रहने बताइएको छ ।

भारत सरकारको सहयोगमा २०२२ देखि सिद्धार्थ राजमार्गको निर्माण सुरु भई २०२८ मा सम्पन्न भएको थियो । देशकै पर्यटकीय सहर एवं गण्डकी प्रदेशको सदरमुकाम पोखरालाई व्यापारिक सहर बुटबल तथा भारतसँगै जोड्ने पुरानो सडक हो– सिद्धार्थ राजमार्ग । सडक निर्माण भएको लामो समय भइसक्दा पनि यसको स्तरोन्नति हुन सकेको थिएन ।

उक्त पुलमा रातको समयमा आकर्षक बत्तीले सजाउने योजनासमेत बनाइएको छ । राम्दीघाट हिन्दु धर्मावलम्बीको पवित्र तीर्थ स्थलसँगै भएकाले पनि पुललाई पर्यटकमैत्री बनाउने योजना छ ।

ठुला भारवहन क्षमताका सवारीसाधन राम्दीमा रहेको हालको पुलमा सञ्चालन हुन नसक्दा मालसामान ढुवानीमा कठिनाइ भएको थियो । यसले गर्दा आसपासका उपभोक्ता मर्कामा परेका थिए ।

नयाँ पुल निर्माण थालिएसँगै पुलको बाटो भई सामान ढुवानी गर्ने उद्योगी, व्यापारी तथा उपभोक्ता खुसी हुन थालेका छन् । पुल निर्माण भएको लामो समय भएको हुँदा यसको क्षमता घट्दै गएकाले अहिले १० टन क्षमताभन्दा बढी भारवहन क्षमताका सवारीसाधन चल्न रोक लगाइएको छ ।

१० टनभन्दा माथिको ४० टनसम्मका भारवहन क्षमताका सवारीसाधन बुटवलबाट चितवन हुँदै पोखराबाट स्याङ्जा आउनुर्ने बाध्यता थियो ।

ठुला भारवहनका सवारीसाधन अब बुटवलबाट सीधै कम लागतमा स्याङ्जा आउने भएपछि स्थानीय व्यवसायीसहित उपभोक्तासमेत हौसिएका छन् ।