७२ सालको भूकम्पमा कारागारबाट भागेका लामा हिजो प्रकाउ

७२ सालको भूकम्पमा कारागारबाट भागेका लामा हिजो प्रकाउ


काठमाडौं ।

भूकम्पको समयमा कारागारबाट भागेका कैदी आठ वर्षपछि पक्राउ परेका छन् ।

१२ वैशाख ०७२ मा आएको विनाशकारी भूकम्पमा सिन्धुपाल्चोक कारागारबाट भागेका ४२ वर्षीय निमा लामालाई प्रहरीले कास्कीको विजयपुरबाट पक्राउ गरेको हो ।

लामा कर्तव्य ज्यान मुद्दाका कैदी हुन् । उनलाई अदालतले कर्तव्य ज्यान मुद्दामा २० वर्ष तथा जेलबाट भागे–भगाएको कसुरमा नाै वर्ष ६ महिना २० दिन कैद सजाय भएको थियो ।

२८ वैशाख ०७१ मा उनले सिन्धुपाल्चोक ठूलोपाखरकी ठूलीमाया तामाङको हत्या गरी शवलाई रूखमा झुन्ड्याएका थिए । जुन मुद्दामा अदालतले उनलाई सोही वर्षको १७ चैतमा २० वर्ष कैद सजाय सुनाएको थियो ।

जेलबाट भागेपछि थप साढे नौ वर्ष सजाय भएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई पक्राउ गरेको हो ।