काठमाडौं ।
काठमाडौं महानगरपालिकाले बिजुलीबजार पुल नजिकको बार्दली रेष्टुरेन्टले मिचेको संरचना भत्काएको छ ।
बिहीबार बिहान डोजरसहित पुगेका नगर प्रहरीहरुले बार्दली रेष्टुरेन्टले सडकको संरचना मिचेर बनाएको पर्खाल भत्काइदिएको हो ।
महानगरपालिकाले बार्दली रेष्टुरेन्टभन्दा उत्तरतिरका संरचना भने यसअघि नै भत्काइसकेको थियो ।
काठमाडौं महानगरपालिका वडा नम्बर १०का जनप्रतिनिधि, नापीका प्रतिनिधि र स्थानीयको उपस्थितिमा यसअघि अनधिकृत संरचना बनाएर हडपिएको जग्गाको रेखांकन गरिएको थियो ।
काठमाडौं महानगरपालिका वडा नम्बर १० को सिट नम्बर १०२–११४६–०६ को कित्ता नम्बर ४१२, २८९, २९०, २६४ र ४ नम्बर कित्ताको सरकारी जग्गा महानगरले छुट्याएको थियो । त्यसपछि सरकारी जग्गा मिचेर बनाइएका संरचना भत्काउन सुरु गरिएको थियो ।
बार्दली रेष्टुरेन्टलाई आफैं संरचना भत्काउन भनेकोमा नमानेपछि महानगरपालिकाले डोजर चलाएको हो । वडा नम्बर १० का अध्यक्ष रामकुमार केसीले बार्दली रेष्टुरेन्टलाई दुई महिनाभन्दा अगाडि नै मिचिएका संरचना हटाउन भनेकोमा नमानेपछि महानगरपालिकाको टोलीले आज भत्काइदिएको बताए ।
प्रतिक्रिया