मन्त्री किराँतीको अभिव्यक्तिको विरोधमा गाैशालामा प्रदर्शन हुँदै

मन्त्री किराँतीको अभिव्यक्तिको विरोधमा गाैशालामा प्रदर्शन हुँदै


काठमाडौँ ।

नागरिक उड्डयन, पर्यटन तथा संस्कृतिमन्त्री सुदन किराँतीको ‘विवादस्पद अभिव्यक्ति’लाई लिएर काठमाडौंमा विरोध प्रदर्शन गरिने भएको छ ।

मन्त्री किराँतीले दिएकाे ‘क्रिश्चियन नमान्ने संविधान विरोधी हुन्’ भन्ने अभिव्यक्तिको विरोध गर्दै काठमाडौँमा विरोध प्रदर्शन गर्न लागिएको हो ।

विरोधसभाका एक आयाेजक तथा संगत संस्कृतिका संयाेजक पुष्पराज पुरुषका अनुसार सभा बिहीबार पशुपति विकास कोषको कार्यालय, गौशालाअगाडि दिउँसाे २ बजे आयोजना हुनेछ ।

सो विरोधसभाका लागि नारा पनि तय गरिएको उनले जानकारी दिए । सुदन किराँती–राजीनामा दे, पशुपति विकास कोषमा गैरधार्मिक मान्छेको नियुक्ति बन्द गर, धर्म निरपेक्ष मुर्दावाद, सनातन हिन्दु राष्ट्र कायम गर जस्ता नाराहरू तय गरिएको छ ।