‘आर्थिक प्रलोभनमा बर्दिबास नगरपालिकाद्वारा रातु नदी दोहन’

‘आर्थिक प्रलोभनमा बर्दिबास नगरपालिकाद्वारा रातु नदी दोहन’

विकास टाइम्स
714
Shares

महोत्तरी ।

रातु नदी उत्खननविरुद्ध बर्दिबास नगरपालिकाका राजनीतिक दलहरू एकजुट भएका छन् ।

नगरपालिकाले मनोमानी ढंगले नदी उत्खनन गरेको भन्दै दलहरू संरक्षणको पक्षमा उभिएका हुन् ।

आज विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, लोसपा, रास्वपा, जनमतसहित दलले नगरले अवैध ढंगले गरेको उत्खनन रोक्ने सामूहिक प्रतिबद्धता जनाएका हुन् ।

कुनियतपूर्वक आर्थिक प्रभावमा परेर नगरले नदी उत्खनन गरिरहेको बताउँदै विज्ञप्तिमा आमनागरिकलाई सचेत रहन अपिल गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘आर्थिक स्रोत व्यवस्थापन गर्ने बहानामा रातु नदीमा भइरहेको अनियन्त्रित उत्खननलाई तत्कालै रोक्न बर्दिबास नगरपालिकासहित सरोकारवालाहरूलाई ध्यानाकर्षण गराउँछौँ ।’

नगरले अहिले लगाएको ठेक्कामाथि नै प्रश्न उठाइएको छ । नदीको पथलैया खण्डमा अहिले उत्खनन भइरहेको छ भने अन्य ३ वटा खण्ड सम्झौता प्रक्रियामा छन् ।

तर, आर्थिक वर्ष २०७७/०७८ मा लगाएको ठेक्कामा भएको अवैध उत्खननका कारण विवादित भई हाल जनकपुर उच्च अदालतमा मुद्दा विचाराधीन छ ।

तत्कालीन समयमा नापजाँच उपसमितिको प्रतिवेदनअनुसार उत्खनन गर्ने जिम्मा पाएका ठेक्केदार कम्पनीहरूले सम्झौता विपरीत ७ गुणा बढी उत्खनन गरेका थिए ।

क्षति परिपूर्तिको अवस्थालाई समेत आकलन नगरी अहिले पुनः ठेक्का लगाएर उत्खनन गर्नु नियमविपरीत भएको विज्ञप्तिमा उल्लेख छ ।

नगरले चुरे तथा नदी दोहनलाई पक्षपोषण गरिरहेको बताउँदै पाटुस्थित रातु नदी बगरमा ताल बनाउने योजनासमेत नदीजन्य पदार्थ तस्करी गर्ने नियतबाट प्रभावित भएको दलका नेताहरूले आरोप लगाएका छन् ।

दुबईमा जलवायु परिवर्तनसम्बन्धी विश्व शिखर सम्मेलन (कोप–२८) सम्पन्न भएको र चुरे तथा वातावरण विज्ञहरूले नेपालको सन्दर्भमा जलवायु परिवर्तनका कारण पानीको अभाव अझै बढ्दै जाने बताइरहेका बेला संरक्षणलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने अवस्थामा अझ चुरे नै विनाश हुने गरी भइरहेको रातु नदीको उत्खनन कार्यलाई तत्कालै रोक्न विज्ञप्तिमा बर्दिबास नगरपालिकासँग मागसमेत गरिएको छ ।