धनगढी उपमहानगरपालिका विरुद्ध सर्वोच्चमा रिट

धनगढी उपमहानगरपालिका विरुद्ध सर्वोच्चमा रिट


धनगढी ।

धनगढी उपमहानगरपालिकाले स्थानीय राजपत्रमा प्रकाशित गरेको जग्गा प्लटिङ सम्बन्धी कार्यविधिबारे पक्ष र विपक्षमा बहस भइरहेका बेला सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

उपमहानगरपालिकाले ल्याएको कार्यविधिविरुद्ध कैलाली जग्गा तथा आवास विकास संघका अध्यक्ष उपेन्द्रप्रसाद अवस्थीले आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । उक्त कार्यविधि खारेज सम्बन्धी परमादेश माग गर्दै दायर गरिएको रिटमा सर्वोच्च अदालतले बुधबार ११ पुसमा पेशी तोकेको छ ।

धनगढी उपमहानगरपालिका र नगर प्रमुख गोपाल हमाल समेतलाई विपक्षी बनाएर रिट दायर गरिएको अवस्थीले जानकारी दिएका छन् ।

धनगढी उपमहानरपालिकाले २५ मंसिरमा स्थानीय राजपत्रमा प्रकाशित गरेको कार्यविधीमा जग्गाको प्लटिङ गर्दा सडकको चौडाई कम्तीमा १० मिटरको हुनुपर्ने उल्लेख गरिएको छ ।

उक्त कार्यविधिमा नगर प्रमुख हमालले एकलौटी गरेको भन्दै वडाध्यक्षसहितका कार्यपालिका सदस्यहरु विरोधमा उत्रिएका छन् भने नगर प्रमुख हमालले सबैको सहमतीमा कार्यपालिका बैठकबाट पारित गरेको दाबी गर्दै आएका छन् ।