आरती साह मृत्यु प्रकरण : पति मोतीबाबु साह पुनः पक्राउ

आरती साह मृत्यु प्रकरण : पति मोतीबाबु साह पुनः पक्राउ


काठमाडौं ।

आरती साह मृत्यु प्रकरणमा उनका पति मोतीबाबु साह पुनः पक्राउ परेका छन् ।

धनुषा प्रहरीले आरतीका श्रीमान मोतीबाबुलाई आज जनकपुरको सीता चोकबाट पक्राउ गरेको हो। उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय लगिएको छ ।

आरतीका पति मोतीबाबुलाई पुनः पक्राउ गरी थुनामा पठाउन गत मंसिर २० मा सर्वोच्च अदालतले आदेश दिएको थियो ।

सर्वोच्चको आदेश कार्यान्वयन गर्न आरतीको पतिलाई पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ । गत जेठ ७ गते आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका ९ थापाचोकमा आरती मृत अवस्थामा फेला परेकी थिइन् ।

आरतीको हत्या भएको भन्दै माइती पक्षले जाहेरी दिएपछि प्रहरीले आरतीको पति मोतीबाबु र ससुरा मदनमोहन ब्याहुत सुडीलाई पक्राउ गरेको थियो ।

जिल्ला अदालतले उनी दुवै जनालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर उच्च अदालत जनकपुरको आदेशमा उनीहरू साधारण तारिखमा रिहा भएका थिए ।

प्रहरीले नै फितलो अनुसन्धान गरी मुद्दालाई कमजोर बनाएपछि उच्च अदालतले उनका पति र ससुरालाई छाडिएको माइत पक्षको आरोप छ ।

छोरीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै आरतीकी आमा, बुबा, बहिनी, भई मामा लगायत करिब तीनमहिनादेखि काठमाडौंको माइतीघरमण्डलमा धर्ना दिँदै आएका छन् ।