ग्लोबल आइएमई बैंककाे ‘मेरी उनीलाई स्वस्थ नारी पहल अभियान’ सञ्चालन

ग्लोबल आइएमई बैंककाे ‘मेरी उनीलाई स्वस्थ नारी पहल अभियान’ सञ्चालन


काठमाडौं ।

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वर्ष प्रवेशको अवसर पारेर ‘मेरी उनीलाई स्वस्थ नारी पहल अभियान’ सञ्चालन गरेको छ ।

जसअन्तर्गत बैंकले नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सातवटै प्रदेशमा एकदिने निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको हो ।

शिविरमा स्त्रीरोगविज्ञहरूले स्वास्थ्य परीक्षण, पाठेघरको क्यान्सर (भिआइए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधि वितरणलगायतका स्त्रीरोगसम्बन्धी विभिन्न सेवा निःशुल्क उपलब्ध हुने जनाइएको छ । प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गरिने र स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिने उल्लेख छ ।

यसअन्तर्गत बैंकले ४ पुसमा सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्ला गौमुल गाउँपालिकामा शिविर सञ्चालन गरी एक सय ७० भन्दा बढी महिलाको स्वास्थ्य जाँच गरिसकेको जनाएको छ ।

बाँकी ६ वटा प्रदेशमा पुस महिनाभित्रै शिविरहरू सञ्चालन हुने जनाइएको छ । जसअनुसार बागमती प्रदेशको भरतपुर महानगरपालिकाको गौरीगन्ज स्वास्थ्य चौकीमा पुस १३ गते, लुम्बिनी प्रदेशको रैनादेवी छहरा गाउँपालिको छहरा स्वास्थ्य चौकीमा पुस १७ गते, कर्णाली प्रदेशको वीरेन्द्रनगर नगरपालिकामा रहेको जर्बुट्टा स्वास्थ्य चौकीमा पुस १८ गते, गण्डकी प्रदेशको अन्नपूर्ण गाउँपालिकामा रहेको पोखरेबजार आधारभूत विद्यालयमा पुस २१ गते र कोशी प्रदेशको इलाम नगरपालिकामा रहेको मलाटे स्वास्थ्य चौकीमा पुस २८ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने बैंकले जनाएको छ ।

स्वास्थ्य शिविर ग्रामीण तथा अर्धसहरी क्षेत्रका स्वास्थ्य सेवाको पहुँच नभएका महिलाका निम्ति प्रभावकारी हुने र उनीहरूमा सकारात्मक प्रभाव पर्ने बैंकले विश्वास व्यक्त गरेको छ ।