बागलुङ ।
काठेखोला गाउँपालिका–८ लेखानी जिल्ला सदरमुकाम बागलुङ बजार नजिकैको गाउँ भए पनि विकासका हिसाबले पछाडि थियो । पछिल्लो समय स्थानीय, प्रदेश र केन्द्र सरकारले ध्यान दिन थालेपछि विकासले गति लिन थालेको छ ।
चालु आर्थिक वर्षमा यस वडामा ७ करोड ३३ लाख ६४ हजारको योजना कार्यान्वयनको चरणमा छ । २५ वटा योजनाका लागि काठेखोला गाउँपालिका, प्रदेश र संघीय सरकारमार्फत गरी उक्त बजेटको योजना कार्यान्वयनको चरणमा छन् ।
लेखानीमा विनियोजित रकममध्ये ५ करोड ५५ लाख संघीय र ९० लाख प्रदेश सरकारबाट तथा ८८ लाख ६४ हजार काठेखोला गाउँपालिकाबाट विनियोजन भएको गाउँपालिका कार्यालयले जनाएको छ ।
चालु आवमा पदमार्गका ९ योजनाका लागि गाउँपालिका र प्रदेश सरकारबाट गरी ५८ लाख ७४ हजार ४०० रुपैयाँ विनियोजन भएको काठेखोला–८ का वडाध्यक्ष प्रमानन्द कँडेलले जानकारी दिए । उनका अनुसार मोटरबाटो निर्माणका लागि ६ योजनामा गाउँपालिका, गण्डकी प्रदेश र संघीय सरकारको गरी ५ करोड ९९ लाख बजेट व्यवस्थापन भएको हो ।
२ खेल मैदान निर्माणका लागि चालु आवमा काठेखोला र गण्डकी प्रदेशले लेखानीमा १४ लाख विनियोजन गरेका छन् भने विद्यालय सुधार तथा गुणस्तरीय शिक्षा कार्यक्रमका लागि गण्डकी प्रदेशबाट५ लाख प्राप्त हुनेछ ।
सिँचाइ तथा खानेपानीका लागि प्रदेश र गाउँपालिकाको १२ लाख, पोखरी तथा ताल निर्माणका २ योजनाका लागि गाउँपालिका र प्रदेश सरकारबाट ११ लाख, वातावरण संरक्षण तथा झाडी सरसफाइका लागि गाउँपालिका र संघीय सरकारबाट २३ लाख ९० हजार बजेट विनियोजन भएको काठेखोला गाउँपालिकाका प्रवक्ता टीका संगम विकले जानकारी दिए ।
उनका अनुसार स्वास्थ्यसम्बन्धी कार्यक्रमका लागि गाउँपालिकाले १० लाख बजेट विनियोजन गरेको छ । सबैभन्दा ठुलो रकम संघीय सरकारबाट सुल्डाँडा लेखानी सेतीचौर देउराली सडक स्तरोन्नतिका लागि ५ करोड विनियोजन भएको प्रवक्ता विकले बताए ।
ओखले कोटपखेरा बराहथान पहिरो नियन्त्रणका लागि २० लाख र थाननेटा गाजा दह हुँदै शान्तिपुर जोड्ने सडक निर्माणका लागि संघीय सरकारबाट ३५ लाख विनियोजन भएको वडाध्यक्ष कँडेलले जानकारी दिए ।
सुल्डाँडा लेखानी सेतीचौर देउराल सडक स्तरोन्नतिका लागि प्रदेश सरकारबाट २५ लाख, लेखानी प्रावि हुँदै भट्टेबारी पदमार्गका लागि ५ लाख, काशीराम छन्त्याल प्रावि मर्मतका लागि ५ लाख, सेतीचौर जलाशय निर्माणका लागि १० लाख विनियोजन भएको छ ।
त्यस्तै, प्रदेश सरकारबाटै फार्सलखोला कोलेलीडाँडा सिँचाइ कुलोका लागि १० लाख, कादेश आधारभूत विद्यालय खेलमैदान निर्माण गर्न ५ लाख र कादेश चित्रेदेउराली सडक निर्माण गर्न ३० लाख बजेट विनियोजन गरेको वडाध्यक्ष कँडेलले जानकारी दिए ।
उनका अनुसार काठेखोला गाउँपालिकाबाट भुमेचौर गौडा हुँदै कादेश मोटरबाटोका लागि ८ लाख, रोगालखोला माटखत्री पातल पदमार्ग निर्माण गर्न ९ लाख ७४ हजार, सिमथानदेखि डैलेखानी घुम्तीसम्म पदमार्गलाई ९ लाख, भुमेचौर माईस्थान च्यानडाँडा हुँदै उपल्लाथर पदमार्ग निर्माण गर्न ९ लाख विनियान भएको छ ।
झाडी तथा रुख कटानका लागि काठेखोलाबाट ३ लाख ९० हजार, कादेश खानेपानी योजना मर्मतका लागि २ लाख, भुमेचौर खेलमैदान निर्माण गर्न ९ लाख, छेडादेखि वडा कार्यालयसम्म पदमार्गका लागि १० लाख, झरुवापाटा भिरकुना पदमार्गका लागि ४ लाख विनियोजन गरिएको कँडेलले बताए ।
पीपलबोट भ्यूटावर सेतीचौर पदमार्गलाई ४ लाख, सेतीचौर कुटाखर्क हलहले पदमार्गलाई ४ लाख, सडक मर्मत सुधार योजनाका लागि ४ लाख, पुच्छरघर माईथान पदमार्गलाई ४ लाख, खाली पोखरी निर्माणका लागि १ लाख र लेखानी स्वास्थ्यचौकी ट्रस निर्माणका तथा मर्मत योजनाका लागि १० लाख विनियोजन भएको कँडेलले जानकारी दिए । उनका अनुसार लेखानीले यसपटक गाउँपालिकाको बजेटबाट १५ वटा योजना बनाएको छ ।
थोरै योजना बनाएर देखिनेगरी बजेट खर्चनुपर्ने वडाध्यक्ष कँडेल बताए । यस आवमा गाउँपालिकाले दसैँको छेको पारेर योजना सम्झौतासहितको एकीकृत घुम्ती शिविर सञ्चालन गरेको थियो । काठेखोला–८ लेखानीले भने त्यसअगावै उपभोक्ता समिति गठन गरेर अधिकांश योजना सम्झौता गरेर कार्यान्वयनको चरणमा पुगिसकेको जनाएको छ ।
‘अहिलेसम्म यस वडामा जनचाहनाअनुसार विकास हुन सकेको थिएन । विकासका लागि धेरै बजेट चाहिन्छ, गाउँपालिकाको बजेट मात्रै कुरेर बस्ने हो भने काम गर्नै सकिन्न,’ वडाध्यक्ष कँडेलले भने, ‘पालिकामा आउने सीमित बजेट हुन्छ, प्रदेश र संघीय सरकारबाट योजना पार्नसके मात्रै काम देखिने हो । अहिले प्रदेश र संघीय सरकारबाट योजना परेसँगै बजेट पनि ल्याउन सकिएको छ । अब विकासले फड्को मार्नेछ ।’
गाउँपालिकाका प्रवक्ता विकले वडा नं ८ पछिल्लो समय अब्बल वडा बन्दै गएको बताए । यस वडामा विगतदेखि ससाना योजना परेर काम भए पनि ठुला विकास निर्माण भने कम भएको उनको भनाइ थियो । पालिकाले सबै वडालाई समानुपातिक रूपमा बजेट विनियोजन गर्दै आएको प्रवक्ता विकले बताए ।
प्रतिक्रिया