क्रिसमस डे : रक्सी पिउने बहाना कि विश्व बन्धुत्वकाे यात्रा ?

क्रिसमस डे : रक्सी पिउने बहाना कि विश्व बन्धुत्वकाे यात्रा ?


काठमाडौँ ।

श्रेयान्स्वधर्मो विगुणः परधर्मात्स्वनुष्ठितात् ।
स्वधर्मे निधनं श्रेयः परधर्मो भयावहः ।।

यसमा भन्न खोजिएको कुरा के हो भने– अरू धर्म जस्तोसुकै भए पनि आफ्नै धर्म श्रेष्ठ हुन्छ र आफ्नै धर्ममा रहेर बरु मृत्युवरण गर्नु कल्याणकारी हुन्छ । तर, अरूको धर्म भयावह हुन्छ । विश्व समुदायले नै स्वीकार गरेको श्रीमद्भगवद्गीतामा उल्लेख गरिएको कुरा हो यो ।

यस विषयलाई उल्लेख गर्नुको सन्दर्भ आज विश्वको बहुसंख्यक इसाई धर्मावलम्बीले मनाउँदै गरेको ‘क्रिसमस डे’ नै हो । आज इसाई धर्मावलम्बीहरूको महान् पर्व ‘क्रिसमस डे’ हो । विश्वभरका इसाई धर्मावलम्बीले हरेक वर्षको २५ डिसेम्बरमा जिसस क्राइस्टको जन्मदिनको उपलक्ष्यमा आजको दिनलाई ‘क्रिसमस डे’का रूपमा मनाउँछन् ।

हुन त इसाई धर्मका प्रवर्तक मानिने जिससको जन्म मिति यकिन नभए पनि वेस्टर्न क्रिस्चियन चर्चले उनको जन्म डिसेम्बर २५ भनेर तोकेकाले यसैलाई उनको जन्मदिनका रूपमा मनाउन सुरु गरेको देखिन्छ ।

पछिल्लो २ दशकदेखि नेपालमा पनि खुबै तामझाम र भव्यताका साथ ‘क्रिसमस डे’ मनाउने गरिएको छ । सरकारले यस दिन सार्वजनिक बिदा दिएर राज्यको तर्फबाट सम्मान पनि व्यक्त गरेको छ । हुन त धर्मनिरपेक्ष राज्यले सबै धर्मलाई उत्तिकै व्यवहार गर्नुपर्छ, यो राज्यको दायित्व र कर्तव्य हो ।

यति भनिरहँदा फेरि ‘स्वधर्मे निधनं श्रेयः परधर्मो भयावहः’ भन्ने वाक्यांश र यसको तात्पर्यलाई पुनः स्मरण गरौँ । पुर्खादेखि मानिँदै आएको र अनादिकालदेखि अस्तित्वमा रहेको सनातन धर्मलाई आफ्नो धरातलीय गुणका रूपमा स्वीकार गरेका हामी आजभोलि करिब २१०० वर्षदेखि सुरु भएको इसाई धर्मको आडमा तिरस्कार गर्दै छौँ ।

हुन त एउटा धर्ममा रहेर अर्को धर्मको विरोध गर्नु कदापि उचित हुँदैन । तर, ९० प्रतिशतभन्दा बढी सनातन धर्मावलम्बी रहेको देशमा राज्यको तल्लो निकायदेखि माथिल्लो तहसम्मले ‘परधर्मो श्रेयः’ भन्ने आशय व्यक्त गर्नुचाहिँ पक्कै पनि संशयपूर्ण विषय हो ।

पूर्वीय दर्शनले महत्वपूर्ण नैतिक शिक्षाका रूपमा लिएको एउटा वाक्य हो ‘वसुधैव कुटुम्बकम्’ । हिन्दु ग्रन्थ महोपनिषद्मा उल्लेख गरिएको ‘अयं निजः परो वेति गणना लघुचेतसाम्, उदारचरितानां तु वसुधैव कुटुम्बकम्’ श्लोकबाट सनातनीहरूले आफ्नो नैतिक शिक्षाका रूपमा उक्त वाक्यांशलाई लिएका हुन् ।

यसको तात्पर्य हो– यो मेरो, यो त्यसको भन्ने कुरा संकुचित सोच राख्ने मानिसले मात्र गर्छ, उदारताको सोच राख्नेहरूले ‘वसुधैव कुटुम्बकम्’ अर्थात् सम्पूर्ण विश्वलाई एउटै परिवार ठान्छ । तर, अरूलाई ‘सैतान’ भन्ने चरित्र आजभोलि कसरी उदय हुँदै छ ?

रमाइलो गर्न, मदिरा पिउन र तडकभडक देखाउन मात्र हामी अन्य धर्मलाई आत्मसात गर्दै छौँ वा साँच्चिकै ‘वसुधैव कुटुम्बकम्’को बाटोमा लागेका छौँ भन्ने विषय हामी सबैले बुझ्न जरुरी छ । आफ्नो धर्मलाई परित्याग गर्दै लहडमा लागेकाले त कतै ‘सैतान’ प्रवृत्ति जन्माइरहेका छैनन् ? यो पनि सोचनीय विषय हो ।

आफ्नो धरातलीय अवस्था बिर्सिएर भिरमा गाडी मोड्दा आफूसँगै गाडी पनि क्षतिग्रस्त हुन सक्छ । अरूको आस्था र परम्परालाई आफ्नो रमाइलोको माध्यम बनाउनु भनेको ‘परधर्मो भयावहः’ भन्ने तत्पर्यलाई सिद्ध गर्नु मात्र हो ।

जन्मँदा एउटा धर्म र पन्थ, तर हुर्किएपछि अर्को धर्म अँगाल्ने मूढताकै कारण आज ‘तेरो धर्म यस्तो र मेरो धर्म यस्तो’ भन्ने बहस जताततै फैलिएको छ । यसले धार्मिक अस्थिरता निम्त्याउने र द्वन्द्व बढाउनेबाहेक अरू केही गर्दैन । पछिल्ला केही वर्षयता नेपालमा यसको छनक राम्रै देखिएको छ ।

कुनै धर्मलाई आस्थाका रूपमा भन्दा पनि मनोरञ्जनको माध्यमका रूपमा लिने प्रवृत्ति हाबी हुँदै जाँदा पनि यस्ता विकृतिहरू फैलिँदै गएको छ । हामी ‘क्रिसमस डे’ मनाउँछौँ वा सम्मान गर्छौँ, त्यसैमा हाम्रो धार्मिक सहिष्णुताको भविष्य निर्धारण हुन्छ ।

त्यसैले ‘क्रिसमस डे’ मनाउने नाममा टुप्पी ढाकेर रातो टोपी लगाउने र मदिरामा लठ्ठ हुने हो वा ‘वसुधैव कुटुम्बकम्’को पथमा लाग्ने भन्ने कुरा अहिले नै निर्धारण गरिएन भने न इसाई रहलान् न त सनातनी नै ।