हिटर बालेर सुतेका ८२ वर्षीय लामाको मृत्यु, श्रीमती अस्पतालमा

हिटर बालेर सुतेका ८२ वर्षीय लामाको मृत्यु, श्रीमती अस्पतालमा


काभ्रे ।

काभ्रेमा निस्सासिएर एक जना वृद्धको मृत्यु भएको छ।

नमोबुद्ध नगरपालिका वडा नम्बर १ का ८२ वर्षीय कर्मा ग्याल्बो लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार श्रेष्ठले बताए।

कोठामा हिटर र फलामको कराइमा आगो बालेर झ्याल–ढोका बन्द गरी सुतेको कारणले निस्सासिएको उनको मृत्यु भएको अनुमान गरिएको श्रेष्ठले बताए।

सोमबार बेलुकी खाना खाएपछि कर्मा र उनकी ८१ वर्षीया श्रीमती असनी लामाले कोठा न्यानो पार्न हिटर र आगो बालेका थिए।

उनीहरू मंगलबार बिहान ८ बजेसम्म पनि नउठेपछि छोरा बुहारीले ढोका खोलेर हेर्दा दुबै जना बेहोस अवस्थामा फेला परेका थिए।

दुबै जनालाई बिहान धुलिखेल अस्पताल लगिएको थियो।

कर्माको सवा ९ बजे धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। असनीको स्वास्थ्य अवस्था मध्यम रहेको अस्पताललाई उद्धृत गर्दै प्रहरीले बताएको छ।