३ दिन बिजुलीको पोलमा बाँधेर महिलामाथि निर्घात कुटपिट, श्रीमानसहित ७ जना पक्राउ

३ दिन बिजुलीको पोलमा बाँधेर महिलामाथि निर्घात कुटपिट, श्रीमानसहित ७ जना पक्राउ


सिन्धुली ।

कमलामाई नगरपालिका–४, सिन्धुलीमा एक महिलालाई पोलमा बाँधेर निर्घात कुटपिट गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रहरी प्रमुख एसपी राजकुमार सिलवाल नेतृत्वको टोलीले गाउँमा
पुगेर बाँधेर राखेकै अवस्थामा थापाको उद्दार गरी उनका श्रीमानसहित ७ जनालाई पक्राउ गरेको छ ।

लेनदेनको विषयलाई लिएर स्थानीय शारदा थापामाथि अमानवीय व्यवहार भएको सूचना पाएपछि आइतबार त्यहाँ पुगेको थियो । प्रहरी पुग्दा भने शारदा अचेत अवस्थामै फेला परेको एसपी सिलवालले बताए।

त्यसपछि उनको उपचारको लागि सिन्धुली अस्पताल पुर्‍याइएको थियो।

प्रहरीका अनुसार, उनका श्रीमान् सन्तोष थापाले गाउँका केही व्यक्तिहरुसँग ऋण लिएका थिए । पहिले जग्गाको कारोबार गर्ने उनको पछिल्लो समय कारोबारमा समस्या आएको थियो । त्यहीबेला श्रीमती शारदाले पनि डिभोर्स गर्नलाई अदालतसम्म पुगेकी थिइन् ।

त्यसपछि श्रीमान् सन्तोष समेत भएर गाउँका अन्य व्यक्तिहरुले उनलाई बाँधेर कुटपिट गरेको बताइएको छ ।

केही दिनअघि पनि शारदाले आफूलाई श्रीमानले अपहरण गरेको भन्दै प्रहरी कहाँ जानकारी गराएकी थिइन् । आफूलाई सिस्नु पानीले हान्ने गरेको समेत उनले प्रहरीलाई बताएकी थिइन् ।

स्थानीयहरूले सन्तोषलाई एक करोड बढी रकम दिएको प्रहरीसमक्ष बताएका छन्। डिभोर्स गर्दा सन्तोषको सम्पत्ति लगेपछि आफूहरूले दिएको रकम फिर्ता नहुने भएपछि उनीहरूले शारदालाई डिभोर्स नगराउन कुटपिट थालेको बयान प्रहरीसमक्ष दिएका छन्।

घटनाको बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरूलाई प्रहरीले मंगलबार म्याद थप गर्ने तयारी गरिरहेको छ।