गौतम बुद्धको मावली देवदह कि देउरवास्थान ?

गौतम बुद्धको मावली देवदह कि देउरवास्थान ?


लुम्बिनी ।

रुपन्देहीको दक्षिणी क्षेत्र सिद्धनाथ–सुदेसर, मकुनगढ–सुमेरगढ, लुम्बिनी सांस्कृतिक नगरपालिकामा पर्ने अमहवा (निपनिया), बन्जरहीलगायत गाउँ–ठाउँमा रहेका पुरातात्त्विक महत्त्वका प्राचीन संरचना पुरातात्त्विक स्थलका रूपमा चिनिन्छन् । सुमेरगढको देउरवास्थान तिनैमध्येको एक हो ।

तर, पुरातात्त्विक महत्त्वको देउरवास्थान संरक्षण पर्खाइमा छ । यहाँका प्राचीन संरचना र वस्तुहरू संरक्षण अभावमा मासिँदै छन् । यो ठाउँ चौपाया चरनमा परिणत भइरहँदा पनि सम्बन्धित निकायले वास्ता गरेका छैनन् ।

भगवान गौतम बुद्धको मामाघर यही ठाउँमा रहेको भन्दै यहाँका स्थानीय अहिले दाबी पनि गर्दैछन् । सामाजिक सञ्जालदेखि यहाँका चौराहहरूमा यस विषयमा दैनिकजसो बहस हुने गरेको छ । अहिले देवदह नगरपालिकाभित्र पर्ने देवदहलाई नै गौतम बुद्धको मावली मानिँदै आएको छ ।

तर, स्थानीयले देउरवास्थान नै गौतम बुद्धको मावली भएको दाबी गरिरहँदा यस विषयमा अन्योल देखिएको छ । स्थानीय त अहिले ‘गौतम बुद्धको मावली देवदह होइन, देउरवास्थान हो । हामी यसका लागि स्थानीयदेखि केन्द्र सरकारसम्मलाई दबाब दिनुपर्छ’ भन्दै एकजुट भइरहेका छन् ।

देउरवास्थानको महत्व

पुरानो नगरको स्वरूपमा रहेको आयातकार क्षेत्रभित्र प्राचीनकालमा प्रयोग हुने पनपथवा इँटाबाट बनाइएको संरचना छ । त्यहाँको जमिन जोत्दा त्यसमुनि लुकेर रहेका संरचना देखिनुका साथै केही इनार र माटाका भाँडाकुँडासमेत एक–एक गर्दै हराइरहँदा सरोकारवाला मौन छन् ।

पुरातात्त्विक सम्पदा अलिखित ऐतिहासिक दस्तावेज भएकाले तिनको संरक्षण गर्नु आवश्यक देखिन्छ । प्राचीन स्मारक संरक्षण ऐन २०१३ ले यस्ता सम्पदाविरुद्ध कुनै गतिविधि गरेमा सजायको समेत व्यवस्था गरेको छ ।

प्राचीन संरचना नष्ट गरेमा, भत्काएमा, हटाएमा, परिवर्तन गरेमा, कुरूप पारेमा, चोरी गरेमा, अनधिकृत काममा लगाएमा वा अन्य कुनै किसिमको नोक्सान पुर्‍याएमा त्यसको बिगोबमोजिमको रकम असुलउपर गरी २५ हजारदेखि १ लाख रुपैयाँसम्म जरिमाना वा ५ वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनी प्रावधान छ । तर, सम्बन्धित निकायहरू मौन छन् ।

एक स्थानीयका अनुसार यो स्थान प्राचीनकालमा देउरवा नामको समृद्ध नगर थियो, जुन दैवी विपत्तिमा ढलेर माटोमुनि पुरियो । उनका अनुसार गाउँका एक व्यक्तिले यहाँको माटो खनेपछि उनका छोराले मानसिक सन्तुलन गुमाएको, माटो खन्न आएको एक्स्काभेटर बिग्रिएको कथन छ । उहिले उहिले मध्यरातको सुनसानमा यो ठाउँबाट धातुको घैँटामा सिक्का ठोक्किएकोजस्तो आवाज आउने गथ्र्यो ।

प्राकृतिक प्रकोप हुने डरले बाँकी रहेको माटोको ढिस्कोजस्तो देखिने करिब १० कट्ठा जग्गा मात्र अतिक्रमण गर्न रहेको उनले जनाए । नगरको अवशेष र संरचना भएको भनिएको अन्य भाग भने स्थानीय जमिनदारहरूले सर्भे नापीमा कब्ज गरिसकेको पनि सुनाए । बाहिर देखिने इँटा र अन्य सामग्री स्थानीयका घर–घरमा प्रयोग भइरहेको उनको भनाइ छ ।

स्थानीयले ढिस्कोजस्तो अग्लो देखिने भाग खनेर खेतीका लागि अतिक्रमण गर्न खोज्दा जमिनमुनिबाट मौरी, कालो बारुलो, बिच्छी र ठुल्ठुला विषधारी सर्प देखापरेको स्थानीय अगुवाले सुनाए ।

ढिस्कोभित्र जल निकासका लागि काठले बनाइएको नालीजस्तो वस्तु रहेको स्थानीयको भनाइ छ । त्यस ठाउँमा सिमेन्टले बनाइएको बाघ र हात्तीको मूर्ति स्थापना गर्दा ती वस्तु देखिएको स्थानीय सीताराम केवटले सुनाए । नजिकै देखापरेको इनार सफा गर्दा प्राचीनकालमा प्रयोग भएका माटाका भाँडावर्तन, पानी पिउने टुइयाँजस्ता सामग्री फेला परेको उनले बताए । इतिहासमा त्यहाँ मानव बस्ती रहेको हुन सक्ने उनको अनुमान छ ।

त्यहाँ दक्षिण, पूर्व हुँदै बगेको हगनीनाला दण्डपाणि ऋषिका नामले नामांकित दण्डा नदीमा मिसिएर उत्तर, पूर्व र दक्षिण किनारालाई घेरेको छ । पश्चिम किनाराबाट घोघीनाला बग्दै त्यही दण्डा नदीमा गई मिसिएको छ । बीचमा सेमरा गाउँतर्फबाट रहेको एकमात्र बाटो छ । यसले शक्तिशाली नगरको जलदुर्गाको संकेत गर्ने विश्वास छ ।

बुद्ध जन्मस्थल लुम्बिनीमा विश्वभरबाट पर्यटक ओइरिइरहँदा बुद्धकालसँग सम्बन्धित रूपन्देहीको दक्षिणी क्षेत्रका विभिन्न स्थानमा छरिएर रहेका प्राचीन सभ्यताका पुरातात्त्विक संरचनाको संरक्षणप्रति कसैको चासो नदेखाएकामा स्थानीय भने असन्तुष्ट छन् ।

रूपन्देही, परासी र कपिलवस्तुमा बुद्धसँग सम्बन्धित २३५ भन्दा बढी पुरातात्त्विक स्थल रहेको बताइन्छ । बुद्ध जन्मस्थल लुम्बिनीमा विश्वभरबाट पर्यटक ओइरिइरहँदा बुद्धकालसँग सम्बन्धित रूपन्देहीको दक्षिणी क्षेत्रका विभिन्न स्थानमा छरिएर रहेका प्राचीन सभ्यताका पुरातात्त्विक संरचनाको संरक्षणप्रति सम्बन्धित निकायको चासो पुगेको देखिँदैन ।

‘मर्चवार र निपनियालगायत ठाउँमा देखापरेका संरचना, भू–बनोट, मिथक र अवशेष सामग्री अध्ययन गर्दा त्यो ठाउँ प्राचीन हस्तिनापुरको सभ्यतासँग मेल खाने आभास हुन्छ,’ बौद्ध धर्मसम्बन्धी स्थानीय शोधकर्ता भोला गुप्ताले भने, ‘परासीको रामग्राम र कपिलवस्तुको गोटिहवाजस्तै देखिने ढिस्को आकारको संरचना चैत्यको पनि हुन सक्छ ।’

प्रदेश सरकारको बेवास्ता

जापानको ‘फन्ड इन ट्रस्ट’को आर्थिक सहयोगमा युनेस्को, बेलायतको बुरहाम विश्वविद्यालय, जापानको टोकियो विश्वविद्यालय, लुम्बिनी विकास कोष र पुरातत्त्व विभागका पुरातत्त्वविद्को संयुक्त टोलीले करिब ६ वर्षपहिले यो क्षेत्रको अध्ययन गरेको थियो ।

तर, यसको संरक्षण र विकासप्रति पुरातत्त्व विभाग तथा संघ र प्रदेश सरकारसमेतले चासो नदिँदा लामो समयदेखि यो स्थान खण्डहर जस्तै बनेको छ ।

यसको उत्खनन, पहिचान र विकासका लागि स्थानीय सरकारसँग पर्याप्त स्रोत–साधन भने छैन । यसको संरक्षण र विकासप्रति पुरातत्त्व विभाग तथा संघ र प्रदेश सरकार समेतले चासो नदेखाएको मर्चवारी गाउँपालिका अध्यक्ष गयाप्रसाद बरई बताउँछन् ।

यस आर्थिक वर्षमा मर्चवारी गाउँपालिकाले यस क्षेत्रमा सडक सञ्जाल पुर्‍याउने भन्दै १ करोड ६० लाख रुपैयाँको बजेट व्यवस्थापन गरेको छ । पालिका अध्यक्ष बरईका अनुसार यस क्षेत्रलाई पर्यटकीय हिसाबले प्रवर्द्धन र विकास गर्ने पालिकाको योजनासमेत छ ।

तर, यसका लागि प्रदेश सरकारले सहयोग नगरेको उनको गुनासो छ । उनले भने, ‘हामीले यस क्षेत्रको विकासका लागि प्रदेश सरकारसँग आग्रह गरेका थियौँ । पत्रै लेखेर पनि योजनाका लागि बिन्ती गर्‍यौँ, तर प्रदेश सरकारले हाम्रो मागलाई सुनेको नसुन्यै गर्‍यो ।’