रातु उत्खननबारे चुरे विज्ञहरूकाे चिन्ता, आइई रिपोर्टमाथि नै शंका

रातु उत्खननबारे चुरे विज्ञहरूकाे चिन्ता, आइई रिपोर्टमाथि नै शंका

विकास टाइम्स
327
Shares

महाेत्तरी ।

महाेत्तरीकाे रातु नदीमा भएको उत्खननको विषयमा चुरे विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । पछिल्लो समय उत्खननको वैधतामाथि प्रश्न उठिरहेका बेला उनीहरूले चिन्ता व्यक्त गरेका हुन् ।

स्थानीय सञ्चारकर्मीहरूले उत्खनन स्थलमा पुगेर गरेको स्थलगत रिपोर्ट हेर्दा निकै भयावह देखिएको बताउँदै पर्यावरणविद् डा. नागेन्द्र यादवले रातु उत्खननको विषयमा स्थानीय सरकार सचेत हुनुपर्ने बताए ।

अघिल्लो पटक उत्खननको क्रममा भएको क्षति हेर्दा अहिले भएको उत्खननको वैधतामाथि प्रश्न उठ्नु स्वाभाविक भएको उनको भनाइ छ । ‘चुरेमा पछिल्लो समय देखिएको पानीको अभाव नदी दोहन नै मुख्य कारक हो भन्न सकिन्छ,’ उनले भने ।

विज्ञहरूका अनुसार आइई रिपोर्टमा नै शंका गर्ने ठाउँ देखिएकाे छ । सैद्धान्तिक रूपमा आइईको प्रक्रिया भयो कि भएन भन्ने विषय खोजीको विषय बन्नुपर्ने उनीहरूको जिकिर छ ।

२०७८ जेठमा गरिएको आइई रिपोर्टले हरेक खण्डबाट १ लाख २१ हजार ५०० घनमिटर मात्र उत्खनन गर्न सकिने बताएको छ । तर, ठेकेदार कम्पनीले उक्त समयमा सम्झौताभन्दा ७ गुणा बढी उत्खनन गरेको नगरपालिकाले नै प्रतिवेदन बनाएको थियो ।

नगरले बनाएको प्राविधिक नापजाँच उपसमितिले गरेको छानबिनले सम्झौताभन्दा बढी १२ करोड बराबरको नदीजन्य पदार्थ निकालेको निष्कर्ष निकालेसँगै अहिले उक्त मुद्दा जनकपुर उच्च अदालतमा विचाराधीन अवस्थामा छ ।

विज्ञहरूले यसैको आधारमा पनि आइई रिपोर्टमाथि आशंका गरेका हुन् । अर्का चुरे विज्ञ डा. विजय सिंहका अनुसार आइई रिपोर्ट मात्र उत्खननमा प्रधान नभएको बताउँछन् । नेपालका धेरैजसो ठाउँमा आइई रिपोर्टलाई नै देखाएर उत्खनन हुने गरेको बताउँदै कतिपय त नक्कल मात्र गरेर तयार गर्ने गरेको देखिएको उनकाे भनाइ छ ।

विज्ञहरूको सुझाव र रातु नदी खण्डमा देखिएको अव्यावहारिक उत्खननले यतिबेला बर्दिबास आन्दोलित भएको छ । सामाजिक सञ्जालबाट नगर प्रमुख प्रह्लादकुमार क्षेत्रीका विरुद्ध बाक्लै टिपणी सुरु भएका छन् भने स्थानीय राजनीति दलले त उत्खनन रोक्न सामूहिक विज्ञप्ति नै जारी गरेका छन् ।

८ राजनीति दलहरूले उत्खननको दीर्घकालीन समस्या सावधानका लागी सरोकारवालाहरूलाई ज्ञापनपत्र बुझाइसकेका छन् भने अन्य रणनीतिसमेत बनाउँदै गरेको नेपाली कांग्रेसका नेता चिरञ्जीवी हमालले जानकारी दिए ।

माओवादी केन्द्रका नेता राजु खड्काले उत्खनन व्यवस्थित र वैज्ञानिक नबनेसम्म यसलाई आन्दोलनका रूपमा अगाडि बढाउने बताए । त्यस्तै पानीको विकराल समस्या खडा भएको भन्दै नेकपा एमालेका नेता शंकर महतोले पर्यावरण जोगाउन जस्तोसुकै कदम चाल्न पनि पछि नपर्ने प्रतिबद्धता जनाए ।

यता नगर प्रमुख प्रह्लादकुमार क्षेत्रीले भने रातु नदी मापदण्डअनुसार नै उत्खनन गरेको दाबी गरेका छन् । आफू जहिल्यै पर्यावरणको पक्षमा रहेको जिकिर गर्दै बाहिर प्रचार गरेजस्तो नभएको उनको भनाइ छ ।