अतिक्रमण हटाएर मर्मतसम्भार भएको १० वर्षमा पनि विमानस्थल सञ्चालनमा आएन

अतिक्रमण हटाएर मर्मतसम्भार भएको १० वर्षमा पनि विमानस्थल सञ्चालनमा आएन


टीकापुर ।

पञ्चायतको बेला सुदूर तथा मध्यपश्चिमका पहाडी जिल्लामा नियमित उडान हुने कैलालीको टीकापुर विमानस्थल सशस्त्र द्वन्द्वपछि सञ्चालनको पर्खाइमा रहेको छ ।

सशस्त्र द्वन्द्वपछिको शान्तिप्रक्रियासँगै सुकुम्वासी र मुक्त कमैयाको अतिक्रमणमा परेको विमानस्थल सञ्चालनमा ल्याउने भन्दै खाली भएको दशक बित्दा पनि सञ्चालनमा आउन सकेको छैन । अतिक्रमण हटाएर मर्मतसम्भार भएको विमानस्थलमा परीक्षण उडानसमेत भएको थियो ।

परीक्षण उडानपछि गौचरनमा सीमित भएको विमानस्थल सञ्चालनका लागि पटकपटक बहस र छलफल हुने गरे पनि त्यसले सार्थकता पाउन नसकेको स्थानीय राजेन्द्र विश्वकर्माले बताए । ‘आज जहाज चड्नका लागि नेपालगञ्ज र धनगढी जानुपर्ने बाध्यता टीकापुरवासीलाई छ’, उनले भने, ‘टीकापुर विमानस्थलबाट जाहाज उड्न सकेको भए त्यति टाढा जानुपर्ने बाध्यता अन्त्य हुने थियो ।’

टीकापुरको पर्यटन र विकासको सम्भावनालाई मूर्तरुप दिनका लागि विमानस्थल सञ्चालनको विकल्प नभएको टीकापुर नगरपालिका–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले बताए । ‘आज दैनिक एक जहाजलाई पुग्ने यात्रु टीकापुरबाट नेपालगञ्ज र धनगढी जाने गरेका छन् । विमानस्थल सञ्चालन भएमा ती यात्रुले टीकापुरबाटै जहाज चड्थे’, उनले भने, ‘टीकापुरमा भएका पर्यटकीय सम्भावनाका क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउनका लागि पनि टेवा पुग्ने थियो ।’

उक्त विमानस्थल सञ्चालन भएमा कैलालीका आठ र बर्दियाका तीन पालिकाका नागरिक प्रत्यक्ष लाभान्वित हुने विश्वास छ । धावनमार्गको समस्या देखाउँदै सञ्चालनमा ढिलासुस्ती भएको विमानस्थल यथाशीघ्र सञ्चालनमा ल्याउनुपर्ने मागसहित नगरपालिकाका उपप्रमुख खडकबहादुर शाहले केही दिन पहिले नागरिक उड्डयन प्राधिकरणलाई ज्ञापनपत्र बुझाएका थिए ।

नगर उपप्रमुख शाहले गलत राजनीतिक संस्कारका कारण विमानस्थल सञ्चालनको बाटो खुल्न नसकेको बताए । ‘हाम्रो विकासको वितरण प्रणाली नै असमान छ । उक्त असमान वितरण प्रणालीको सिकार टीकापुर विमानस्थल पनि बनेको कुरा यथार्थ हो’, उनले भने, ‘विकासको वितरण प्रणालीमा प्रधानमन्त्री, मन्त्री तथा नेतृत्व तहमा पुगेका राजनीतिक दलका नेता आफ्नो क्षेत्र केन्द्रित हुँदा पनि समस्या भएको हो । भएका सम्भावनालाई राज्यस्तरबाट सहयोग हुनसकेको छैन ।’

नगर उपप्रमुख शाहका अनुसार विमानस्थलमा तत्काल एटिआर ४२ को जहाजका लागि कुनै समस्या नभएको देखिएको छ । ‘मैले पाइलटसँग बुझ्दा एटिआर ७२ का लागि धावनमार्ग पुग्दैन । एटिआर ४२ को जहाजका लागि कुनै समस्या छैन’, उनले भने । यसको सञ्चालनका लागि राज्य तथा सरोकारवाला निकायबाट पहल हुनुपर्ने उनको भनाइ थियो ।

यसअघि पनि विमानस्थल सञ्चालनका लागि धेरै प्रयास भएका छन् । विमानस्थलको अध्ययनका लागि तीन अध्ययन समिति पनि बनेका थिए । ती अध्ययन समितिको प्रतिवेदनका आधारमा धावनमार्गको समस्याका कारण विमानस्थल सञ्चालनमा ल्याउन कठिन देखिएको छ ।

टीकापुर उद्योग वाणिज्य सङ्घले विमानस्थल सञ्चालनको माग राख्दै दुई पटक महोत्सव आयोजना गरेको थियो । ‘हामीले तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईलाई टीकापुरमा ल्याएर विमानस्थल सञ्चालनका लागि प्रतिबद्धता व्यक्त गर्न लगाएका थियौँ’, उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष सन्तोष खड्काले भने, ‘त्यसपछि पनि विमानस्थल सञ्चालनका लागि धेरै प्रयास भएका छन् । ती प्रयास सार्थक भने हुन सकेनन् ।’

नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले तत्कालीन अवस्थामा ठूलो जहाज सञ्चालनका लागि धावनमार्गको समस्या देखिएको बताए । उनले धनगढी र नेपालगञ्ज विमानस्थललाई देखाउँदै सानो जहाज सञ्चालन गर्दा हवाई भाडा महँगो हुने तथा यात्रु पाउन गाह्रो हुने बताए ।