शिवराज हत्या प्रकरण : श्रीमान–श्रीमतीसहित ४ जना पक्राउ

शिवराज हत्या प्रकरण : श्रीमान–श्रीमतीसहित ४ जना पक्राउ


दाङ ।

दाङको बंगलाचुलीस्थित कोइलाखानीको सुरूङभित्र मृत फेला परेका शिवराज केसीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

गोली हानेर हत्या भएको अवस्थामा कोइलाखानीको सुरूङभित्र पुस १३ गते ४५ वर्षीय शिवराज केसीको शव फेला परेको थियो। उनको हत्यामा संलग्न रहेको आशंकामा चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएकाे छ ।

पक्राउ पर्नेमा बंगलाचुली गाउँपालिका-४ गदारीका ४३ वर्षीय शेरबहादुर कुँवर, उनकी ३५ वर्षीया श्रीमती दीपा कुँवर र दीपाका भाइ २९ वर्षीय तिलक पुनसहित भरूवा बन्दुक दिने व्यक्ति रहेका छन् ।

पुस ८ गते घोराही बजार जान्छु भनेर निस्केका घोराही उपमहानगरपालिका-६ अघराका शिवराजको शव पुस १३ गते बंगलाचुली गाउँपालिका-४ स्थित कोइलाखानीको सुरूङभित्र फेला परेको थियो।

घटनापछि शेरबहादुर र उनकी श्रीमती दीपा भारतको नयाँ दिल्ली पुगेका थिए।

भारतीय प्रहरीको सहयोगमा उनीहरूलाई नियन्त्रणमा लिएर जिल्ला ल्याइएको यसअघि नै जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लले बताएका थिए।

सुरूमा शिवराजसँग पैसाको बार्गेनिङ भएको हुन सक्ने र कुरा नमिलेपछि उनको हत्या भएको हुनुपर्ने प्रहरी अधिकारीको अनुमान छ।