चितुवाले मारेको भनिएकी वृद्धाको हत्या भएको खुलासा, १७ वर्षीय किशोर पक्राउ

चितुवाले मारेको भनिएकी वृद्धाको हत्या भएको खुलासा, १७ वर्षीय किशोर पक्राउ


काभ्रे ।
काभ्रेमा चितुवाले मारिएको आशंका गरिएको एक वृद्धाको हत्या भएको खुलेको छ।

गत मंसिर ३० गते मण्डनदेउपुर नगरपालिका वडा नम्बर १० हल्देमा स्थानीय ६५ वर्षीया कान्छी दमाई मृत भेटिएकी थिइन्। टाउकोमा कोतरेको जस्तो घाउ देखिएकोले चितुवाले आक्रमण गरेको अनुमान प्रहरीको थियो।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार श्रेष्ठका अनुसार जंगली जनावरको आक्रमणले उनको मृत्यु भएको भन्दै प्रहरीलाई खबर भएको थियो।

‘टाउकोमा कोतरिएको जस्तो घाउ थियो, जसले गर्दा चितुवाले टोकेको हो कि भन्ने जस्तो देखिन्थ्यो,’ उनले भने।

प्रहरीले त्यसदिन मुचुल्का गरी शव पोष्टमर्टमको लागि धुलिखेल अस्पतालमा पठाएको थियो।

अस्पतालबाट पोष्टमर्टम रिपोर्टमा हत्याको कारण- ब्लन्ट फोर्स इन्जुरी भन्ने आयो। अर्थात् कुनै साह्रो वस्तुले टाउकोमा प्रहार गरेर मृत्यु भएको भन्ने तथ्य रिपोर्टबाट खुलेको हो।

घटना शंकास्पद रहेको खुलेसँगै प्रहरीले पनि अर्को तथ्य फेला पार्‍यो। मृतक कान्छीको कानमा रहेको दुई वटा सुनका मुन्द्रा पनि हराइरहेका थिए।

गहना हराएको खुलेसँगै प्रहरीले स्थानीय सुन पलसहरूमा सम्पर्क गरेको थियो। सुन पसलेहरूसँग कुराकानी गर्दै जाँदा एक जना व्यक्ति सुन बेच्न आएको कुरा प्रहरीले थाहा पायो।

डिएसपी श्रेष्ठका अनुसार एउटा सुन पसलमा मृतकको छिमेकी व्यक्ति दुईवटा मुन्द्रा बेच्न भनेर पुगेका थिए।

‘सुन बेच्न भनेर एउटा पसलमा एक जना व्यक्ति आएको थाहा पायौं। पसलमा भएको सिसिटिभी फुटेजमा पनि कैद भएको छ,’ डिएसपी श्रेष्ठले भने, ‘त्यसपछि ती व्यक्ति त्यहीँका स्थानीय भएको भन्ने खुल्यो।’

उनी वडा नम्बर १० बस्ने १७ वर्षीय किशोर हुन्।

उनलाई प्रहरीले गत शुक्रबार नियन्त्रणमा लिएको थियो। उनलाई नियन्त्रणमा लिएको जानकारी प्रहरीले बुधबारमात्रै दिएको हो।

उनीसँग सोधपुछ गर्दा घटना मंसिर २९ गते राति ८ बजेपछि भएको खुल्यो। हत्या गर्नुपर्ने कुनै ठोस कारण अहिलेसम्म नदेखिएको डिएसपी श्रेष्ठले बताए।

‘घटनाको कुनै ठोस कारण पनि छैन। किशोरले मापसे गरेका रहेछन्। बिहेमा गएर फर्किरहेको बेलामा वृद्धालाई देखेपछि हिर्काएको भनेका छन्,’ डिएसपी श्रेष्ठ, ‘वृद्धा त्यहाँ गीत गाएर बसेको र त्यही बेला ढुंगा टिपेर हिर्काएको भनेका छन्। हिर्काएपछि कानमा लगाएको मुन्द्रा लिएर हिँडेका रहेछन्।’

प्रहरीले अहिलेपनि उक्त मुन्द्रा फेला पारेको भने छैन। यस घटनाको अनुसन्धान जिल्ला प्रहरी कार्यालय काभ्रेबाट भइरहेको छ।

कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत काभ्रेबाट ७ दिन हिरासतमा राख्न अनुमति लिएको छ।