स्रोत नखुलेको ३५ लाख सहित ३ जना पक्राउ

स्रोत नखुलेको ३५ लाख सहित ३ जना पक्राउ


काठमाडौं ।

सशस्त्र प्रहरीले सुनसरीबाट स्रोत नखुलेको २१ लाख ५७ हजार नगदसहित एक जनालाई पक्राउ गरेको छ।

बुधबार साँझ सशस्त्रले भोक्राहानरसिंह गाउँपालिका–६ बाट एक जनालाई पक्राउ गरेको हो। सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट लौकहीबाट खटिएको टोलीले कोशी गाउँपालिका–३ का २७ वर्षीय वीरेन्द्रकुमार राउतलाई पक्राउ गरेको हो।

उनको साथबाट स्रोत नखुलेको २१ लाख ५७ हजार नेपाली रुपैयाँ बरामद भएको सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रवक्ता एसएसपी रविनराज कर्णजीतले जानकारी दिए।

प्रदेश १–०२–०५३ प १९५६ नम्बरको मोटरमाइकलमा इनरुवातर्फ आइरहेका बेला राउतलाई खानतलासी गर्दा अवैध रकम बरामद भएको प्रहरीले बताएको छ। साथबाट बरामद भएको रकमको स्रोत खुलाउन नसकेपछि उनलाई पक्राउ गरेको कर्णजीतले बताए।

यस्तै सशस्त्र प्रहरीले नेपाल भारत सीमा नाका मटिहानीबाट स्रोत नखुलेको रुपैयाँसहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । जनकपुर उपमहानगरपालिका १९ का २३ वर्षीय राजु यादव र भारत सीतामढी जिल्ला पश्चिम चरौतका ४८ वर्षीय अवधेश मण्डललाई पक्राउ गरेको हो ।

स्रोत नखुलेको १४ लाख नेपाली रुर्पयाँ बरामद भएको हो । सीमापारिको भारतीय बजार मधवापुरबाट नेपालतर्फ आउँदै गरेका भारतीय नागरिक मण्डललाई खानतलासी गर्दा एक हजार दरका दुई सय र पाँच सय दरका चार सय वटा नोटहरू गरी चार लाख नेपाली रुपैयाँ बरामद भएको थियो ।

पुनः राजु यादवबाट एक हजार दरका सात सय वटा र पाँच सय दरका छ सय वटा नेपाली रुपैयाँको नोट गरी १० लाख रुपियाँ फेला परेको सशस्त्र प्रहरी निरीक्षक भोलाकुमार श्रेष्ठले बताए ।