नगरसभामा रातु नदी उत्खननको विषय उठेपछि विवाद

नगरसभामा रातु नदी उत्खननको विषय उठेपछि विवाद


काठमाडौं ।

बर्दिवास नगरपालिकाको १३औँ नगरसभामा रातु नदी उत्खननको विषय उठेपछि विवाद बढेको छ ।

बिहीबार कार्यापालिका सदस्यहरूले रातु नदीमा अवैध उत्खनन भएको दाबीसहित राजस्वको विषयमा प्रश्न उठाएपछि नगरसभामा विवाद निम्तिएकाे हो ।

नदी उत्खननमा ठेकेदारको पक्षपोषण हुने गरी नगरप्रमुख स्वयम लागीपरेको वताउदै बर्दिवास-६ का वडाध्यक्ष पदम आलेमगरले जनताको जनभावना र विपद्को अवस्थालाई मध्यनजर गर्दै उत्खनन गर्नुपर्ने तर्क राखे ।

अनुगमनको क्रममा उत्खननस्थल पुग्दा निकै बेथिति रहेको र त्यसलाई रोक्न आफूले पटकपटक प्रयास गरेको अध्यक्ष मगरको भनाइ थियाे ।

रातु नदी उत्खननकाे विरुद्धमा नेकपा एमालेबाट निर्वाचित वडा-४ का अध्यक्ष काहरमान स्याङ्वा, बर्दिवास-८ का अध्यक्ष शम्शेर सिंह, बर्दिवास-१३ का रामकिशोर साह, बर्दिवास-३ का अध्यक्ष विराट बिष्ट पनि उभिएका छन् ।

उत्खननलगायत अन्य विषयमा असन्तुष्टि जनाउँदै नेकपा एमाले र नेकपा माओवादी केन्द्रका जनप्रतिनिधिहरूले त नगरसभा नै बहिष्कार गरेका छन् । यद्यपि नगरसभा भने बहुमतबाट नै पारित भएको नगर प्रवक्ता विजय महतोले जानकारी दिए ।

तर नगरसभा पारित हुन संख्यात्मक रूपमा बहुमत नपुगेको बर्दिवास-३ का अध्यक्ष विराट बिष्टको दाबी छ । नगर प्रमुखले एकलौटी गर्न खोज्ने र आफैँमात्र सर्वेसर्वा भएको अहम्‌कै कारण समस्या सिर्जना हुँदै गएको अर्का वडाअध्यक्ष शम्शेर सिंह बताउँछन् ।

साझा भावनामा आफूहरू सधैँ नगर प्रमुखको साथमा रहने र रहिरहेको जिकिर गर्दै नगरपालिकालाई स्वार्थको क्रिडास्थल बनाउन भने नदिने अध्यक्ष सिंहको भनाइ छ ।

अहिले नगरमा विशेषगरी नदी उत्खननको विषय निकै विवादित बनेको छ । अघिल्लो पटक भएको क्षतिको आकलन नै नगरी आइई रिपोर्ट बनाएर खोला उत्खनन गरेको, अहिले भइरहेको उत्खनन मापदण्डविपरीत हुँदा समेत नगर प्रमुख ठेकेदारकै पक्षमा उभिएको जस्ता आरोप लगाइएकाे छ ।

नियम र मापदण्डविपरीत नै भएको जिल्लास्तरीय अनुगमन टोलीले समेत निष्कर्ष निकालेपछि अहिले भएको उत्खनन रोकिएको छ ।