हेटौँडा–काठमाडौँ जोड्ने छोटो दुरीको ३ वटै सडक चैतसम्म बन्द

हेटौँडा–काठमाडौँ जोड्ने छोटो दुरीको ३ वटै सडक चैतसम्म बन्द


काठमाडौँ ।
मकवानपुर भएर काठमाडौँ जोड्ने छोटो दुरीको छैमले सिस्नेरी–छैमले– दक्षिणकाली सडक आजबाट बन्द हुने भएको छ ।

यो सडक खण्ड बन्द भएसँगै हेटौँडा–काठमाडौँ जोड्ने छोटो दुरीको तीन वटै मार्गमा सवारी आवागमन बन्द भएको छ ।

सिस्नेरी–छैमले– दक्षिणकाली सडक खण्ड स्तरोन्नतिका क्रममा आजबाट आगामी चैत मसान्तसम्म बन्द हुने काठमाडौँको दक्षिणकाली नगरपालिकाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले कुलेखानीबाट सिस्नेरी, चखेल र हुमानेभञ्ज्याङ हुँदै काठमाडौँ जोड्ने तीन वटै सडक खण्ड बन्द भएसँगै वैकल्पिक मार्ग प्रयोग गर्न सवारी साधन धनीहरूलाई आग्रह गरेको छ ।

हाल कुलेखानी चित्लाङ काठमाडौँ सडक खण्ड र कान्ति लोकपथ सडक खण्ड सुचारु रहेको भन्दै प्रहरी कार्यालयले ती माग प्रयोगमा ल्याउन भनेको छ । उता कुलेखानी–महालक्ष्मी खोला–चखेल–देउराली–माता तीर्थ–सतुङ्गल सडक र कुलेखानी–फाखेल–फर्पिङ सडक स्तरोन्नतिका क्रममा सवारी साधनको आवागमन आगामी चैतसम्म बन्द गरिने भएको हो ।

यस्तै मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाले कुलेखानी–फाखेल–फर्पिङ सडक खण्ड काम भइरहेकोले आगामी फागुन १५ गतेसम्म सवारीका साधनहरू पूर्ण रूपमा बन्द गरिएको जनाएको छ ।

उता कुलेखानी–महालक्ष्मी खोला–चखेल–देउराली–माता तीर्थ–सतुङ्गल सडक पनि स्तरोन्नतिको क्रममा सवारी आवागमन बन्द गरिएको छ ।