गाउँमा पुगेर नागरिकको स्वास्थ्य परिक्षण

गाउँमा पुगेर नागरिकको स्वास्थ्य परिक्षण


स्याङ्जा ।
स्याङ्जाको चापाकोट नगरपालिकाले गाउँमा नै पुगेर नागरिकको स्वास्थ्य परीक्षण देखी पालिकाबाट हुने सेवा प्रवाहको थालनी गरेको छ ।

हरेक बर्ष नागरिकको घरदैलोमा पुगेर सेवा प्रवाह गर्ने उदेश्य अनुरुप चापाकोट नगरपालिकाले यो बर्षपनि बृहत घुम्ती शिविर राखेर सेवा दिएको हो । नगरपालिकाले पौष १४ गते वडा नम्वर ६ बाट यो सेवा शुभारम्भ गरेको थियो । शिविर अहिलेपनि जारी रहेको चापाकोट नगरपालिकाका प्रमुख प्रशासकीयक अधिकृत ध्रव खनालले जानकारी दिए ।

प्रमुख प्रशासकीय अधिकृत खनालका अनुसार अहिलेसम्म ६, ७, ५, ४, २ नम्बर वडामा क्रमस शिविर सम्पन्न भइसकेको छ । घरदैलोमा पालिकाले दिने सेवा पाएपछि यहाँका नागरिक खुशी भएको खनालले दावी गरे । अहिलेसम्म झण्डै १६ सय नागरिकले स्वास्थ्य सेवा लिएको उनले बताए । घुम्ति शिविरमा सबैभन्दा बढी स्वास्थ्य सेवा लिएको बताइएको छ । १४ बाट शुरु भएको घुम्ति शिविर पौष २७ गते चापाकोट ९ मा आएर समापन हुने प्रमुख प्रशासकीय अधिकृत खनालले बताए । १० ओटा वडा रहेको चापाकोट नगरपालिकामा अव ६ ओटा वडा बाँकी रहेका छन् ।

शिविरबाट योजना सम्झौता, कृषि, पशु, बैंक खाता खोल्ने लगायतका सेवाहरु प्रदान गरिएको छ ।

सबै वडामा स्वास्थ्य शिविरबाट ठुला बिरामी फेला परेमा उनीहरुको समापनको दिन विशेषज्ञ सेवा सहित स्वास्थ्य उपचार गरिने उनले बताए । नगरपालिकाका बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर नागरिकका स्वास्थ्यसम्बन्धी समस्या गाउँमा नै समाधान गर्न लागेको हो ।

सामान्य समस्याको उपचारका लागि टाढा जानुपर्ने बाध्यतालाई कम गर्न गाउँमा नै शिविर सञ्चालन गर्न लागेको चापाकोट नगरपालिकाका नगरप्रमुख देवबहादुर खाँण (ईश्वर) ले बताए । नागरिकलाई सहज होस् भनेर स्वास्थयकर्मीसहितको टोली गाउँमा पठाएका छौं उनले भने,‘शिविरका कारण नागरिकलाई गाउँमा नै उपचार गर्ने अवसर प्राप्त भएको छ ।’ स्वास्थ्य सेवा मात्रै नभएर पालिकाबाट हुने सबैसेवा शिविरबाट प्रदान गरेका छौं उनले भने ।

गतवर्ष पालिकाले गरेको स्वास्थ्य शिविरमा नागरिकको उत्साहजनक सहभागिता रहेको भन्दै प्रमुख खाँणले नागरिकको माग र आवश्यकताका आधारमा यस वर्ष पनि शिविरलाई निरन्तरता दिएको बताए ।

शिविरमा निःशुल्क स्वास्थ्य जाँच, भिडियो एक्स–रे, ई.सी.जी, आँखा परीक्षण, दन्त परीक्षण, परिवार नियोजनका लागि सहजीकरण र रगत, दिसा पिसाब परीक्षण हुनेछ भने वडास्तरीय र नगरस्तरीय योजनाहरु सम्झौता हुने नगरपालिकाले जनाएको छ । शिविरमा पाठेघरको मुखको क्यान्सरको परीक्षण समेत गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत खनालका अनुशार शिविरमा आयुर्वेदिक पद्धतिबाट समेत उपचार हुने र औषधि प्रदान गरिनेछ ।

शिविर प्रत्येक वडाको स्वास्थ्य चौकीमा सञ्चालन हुने नगरपालिकाले जनाएको छ । गाउँमै गएर चापाकोट नगरपालिकाले सेवा प्रवाह दिनथालेपछि नागरिकको उत्साहजनक सहभागिता सगै स्थानीय सरकारको अनुभुती गरेको नगरपालिकाले जनाएको छ । जसले गर्दा पालिकामा गएर योजना सम्झौता गर्ने बाध्यता हटेको छ ।