सडक निर्माणका लागि मेचीनगरलाई विश्व बैंकले एक अर्ब ३ करोड दिने

सडक निर्माणका लागि मेचीनगरलाई विश्व बैंकले एक अर्ब ३ करोड दिने


काठमाडौँ ।

मेचीनगरको सहिद मार्ग र सूर्योदय मार्गमा १४ किलोमिटर कालोपत्रे सडक निर्माण हुने भएको छ ।

उक्त सडक विश्व बैंकको सहयोगमा ‘सहरी शासकीय सुधार तथा पूर्वाधार आयोजना’ अन्तर्गत निर्माण हुन लागेको हो।

नगरको दुई महत्त्वपूर्ण सहरी क्षेत्र धुलाबारी र काँकडभिट्टाको विकासमा सहयोग पुग्ने उक्त सडक निर्माणमा विश्व बैंकको एक अर्ब तीन करोड रुपैयाँ ऋण लगानी लाग्ने प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माको भनाई छ ।

सात प्रदेशका ३३ वटा स्थानीय तहमा ‘सहरी शासकीय सुधार तथा पूर्वाधार आयोजना’ सञ्चालन गर्ने नेपाल सरकारले निर्णय गरिसकेको छ । उक्त आयोजनामा नेपाल सरकारलाई विश्व बैंकले एक अर्ब ५० करोड अमेरिकी डलर अर्थात् करिब दुई खर्ब नेपाली रुपैयाँ बराबर सहुलियत ऋण उपलब्ध गराउने सम्झौता भएको थियो ।

उक्त परियोजनाअन्तर्गत झापा निर्वाचन क्षेत्र नं १ को मेचीनगरमा दुई वटा सडक कालोपत्रे गर्न विश्व बैंकले ७८ लाख अमेरिकी डलर अर्थात् नेपाली रुपैयाँ एक अर्ब बढीको ऋण उपलब्ध गराएको नेपाली काँग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य शर्माले जनाएका छन् ।

शर्माका अनुसार सहिद मार्गअन्तर्गत धुलाबारी मोडबाट बजार क्षेत्र हुँदै खुट्टी डाँगीको थोप्लेबिरान सामुदायिक वनको कार्यालयसम्म पाँच दशमलव तीन किलोमिटर कालोपत्रे निर्माण हुनेछ । उक्त सडकको चौडाइ १२ मिटर, ड्रेन र डबल लेन रहने उनले जानकारी दिए ।